काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले युवाहरूलाई दुरुपयोग हुनबाट जोगाउन अनेक प्रयास गरे पनि भदौ २३ र २४ का दुःखद घटना रोक्न नसकिएको बताएका छन्। बुधबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले देशलाई प्रतिगमनतर्फ लैजान खोज्ने शक्तिहरूले युवालाई भड्काउने कार्य गरेको आरोप लगाए।
पोखरेलले भने, ‘हामीले युवालाई सही दिशामा संगठित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका थियौं, तर षड्यन्त्रकारीहरूको योजनाले त्योभन्दा तीव्र गति लियो, जसको परिणाम ती दुर्भाग्यपूर्ण घटना बने।’
उनका अनुसार सहरिया नवधनाढ्य र युवाहरू क्रमशः एमालेबाट टाढिँदै गएका छन् भने भूमिहीन, सुकुम्बासी र विपन्न वर्गलाई विभिन्न प्रलोभन र आश्वासनमार्फत पार्टीविरुद्ध मोड्ने प्रयास भइरहेको छ। उनले वैदेशिक घटनाक्रमहरूले पनि नेपालभित्रको जनमतमा असर पारेको बताए।
महासचिव पोखरेलले ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत प्रत्येक वडामा १० जना युवाको पहिचान गरी नेतृत्व विकास गर्ने योजना बनाइएको भए पनि त्यसको कार्यान्वयन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरे।
उनले पार्टी संगठनलाई प्रदेशदेखि वडास्तरसम्म सुदृढ बनाउन निर्देशन दिइए पनि युवाबिचको गतिविधिमा अपेक्षित परिणाम आउन नसकेको बताए।
पोखरेलले हालै सम्पन्न सचिवालय बैठकले पार्टी एकतालाई प्राथमिक एजेन्डा बनाएको उल्लेख गर्दै केन्द्रीय कमिटी बैठकले पनि त्यसलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया