एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्ट रूपमा घोषणा गरेका छन् । यो घोषणा उनका केही समर्थकहरूले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझावहरू दिइरहेका बेला आएको हो ।

अमेरिकी संविधानले राष्ट्रपतिहरूलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका हो । तथापि, उनका केही कानूनी सल्लाहकार र कट्टर समर्थकहरूले संवैधानिक सीमालाई बाइपास गर्ने उपायस्वरूप ट्रम्पले सन् २०२८ मा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्ने र पछि शीर्ष पदमा पुनः फर्कन सक्ने सुझाव दिएका थिए ।

advertisement

तर एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ती अड्कलबाजीहरू अस्वीकार गर्दै भने, ‘मलाई थाहा छ, कानूनी रूपमा म त्यसो गर्न सक्ने थिएँ, तर म त्यसो गर्दिन । मलाई यो अहिलेको जस्तै सुन्दर र सही लाग्छ ।’

सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरिसकेका ट्रम्पले प्रायः आफ्ना समर्थकहरूले संवैधानिक सीमाको बाबजुद उनलाई निरन्तर शासन गर्न आह्वान गरिरहेको विषयमा खुलेर बोल्दै आएका छन् । हालै उनले ओभल अफिसको कार्य टेबलमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी पनि प्रदर्शित गरेका थिए, जसले पुनः सत्ता वापसीको अड्कलबाजीलाई थप बल दिएको थियो ।

यसबीच, उनका समर्थकबीच फैलिएको एउटा लोकप्रिय धारणा अनुसार हालका उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्नेछन् । यदि उनले जिते भने, केही समर्थकले उनले छिट्टै राजीनामा दिने र ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्काउने योजना रहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी उनका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख विचारक स्टिभ बेननले गरेको अभिव्यक्तिपछि आएको हो । बेननले हालै द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भनेका थिए, ‘ट्रम्पले तेस्रो कार्यकालका लागि तयारी गरिरहेका छन् । सन् २०२८ मा उहाँ फेरि राष्ट्रपति हुनुहुनेछ र मानिसहरूले त्यसको लागि तयार रहनुपर्छ ।’

संविधानको २२ औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको प्रसङ्ग उठाउँदा बेननले उत्तर दिएका थिए, ‘त्यहाँ धेरै फरक विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजनाबारे स्पष्ट रूपमा बताउनेछौँ ।’

राष्ट्रपति ट्रम्पको यो वक्तव्यले सन् २०२८ पछि अमेरिकाको राजनीतिक दिशाबारे भइरहेका अड्कलबाजीहरूमा नयाँ बहस थपेको छ । यद्यपि उनिले स्वयंले भने आफ्नो वर्तमान कार्यकाललाई नै ‘अन्तिम र सन्तोषजनक’ बताएका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com