काठमाडौं । गृहमन्त्रीले जेन–जी आन्दोलनपछिको बदलिँदो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै शान्ति–सुरक्षा, सुशासन र आगामी निर्वाचन तयारीमा केन्द्रित हुन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीमा सोमबार आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा समन्वय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्रीले सरकारका प्राथमिकताहरू स्पष्ट पारे।

advertisement

उनका अनुसार वर्तमान सरकारका तीन प्रमुख लक्ष्य छन् ,आन्दोलनलाई शान्ति र सेवा प्रवाहलाई सामान्य बनाउने, आगामी फागुन २१ गते स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने, र सुशासन प्रवर्द्धन गर्ने।

गृहमन्त्रीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र र राहत वितरण गर्ने निर्णय कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीहरूलाई सक्रिय भूमिका खेल्न निर्देशन दिए। उनले भने, “विगतका घटनालाई अतिरञ्जित नगरी मृतकका परिवारप्रति सम्मान र घाइतेहरूको दीर्घकालीन सहयोगका लागि सरकारले चाँडै थप निर्णय गर्छ।

निर्वाचनलाई सरकारको शीर्ष एजेन्डा बताउँदै उनले जनताले सुरक्षाको अनुभूति गर्ने गरी सुरक्षा संयन्त्रलाई सुदृढ बनाउन आग्रह गरे। “केन्द्रबाट नीतिगत तयारी पूरा हुँदैछ, उनले भने, प्रदेश र जिल्लास्तरमा निर्वाचन सुरक्षा योजना अन्तिम रूप दिनुहोस्, मतदान केन्द्रहरूको अवस्थाबारे प्रतिवेदन पठाउनुहोस् र संयुक्त गस्तीमार्फत जनविश्वास बढाउनुहोस्।

सुशासन र पारदर्शिता सुनिश्चित गर्न सेवा प्रवाहमा दैनिक सुधार आवश्यक रहेको उल्लेख गर्दै गृहमन्त्रीले अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने बताए। उनले राजस्व चुहावट नियन्त्रण र अपराध अनुसन्धानमा गम्भीरता देखाउन निर्देशन दिए।

त्यस्तै, उनले चिसो मौसमसँगै तराई क्षेत्रमा देखिने शीतलहरको जोखिम घटाउन अग्रिम तयारी र समन्वयात्मक काम गर्न सम्बन्धित निकायहरूलाई सचेत गराए।

बैठकमा गृह सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखहरू र सर्लाही, सिराहा, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए।

गृह सचिवले बदलिँदो परिस्थितिमा सबै सुरक्षा निकायका कर्मचारीहरूलाई निष्ठा, इमानदारी र सहकार्यका साथ जिम्मेवारी पूरा गर्न आह्वान गरे।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com