काठमाडौ । हामीमध्ये धेरैजसोले दैनिक रूपमा नुहाउँछौं । नुहाएपछि शरीर हलुका, मन ताजा र ऊर्जा पुनः प्राप्त भएको अनुभूति हुन्छ । तर, नुहाएलगत्तै कहिलेकाहीँ हामीलाई अस्वाभाविक रूपमा चिसो पनि महसुस हुन्छ । आखिर यस्तो किन हुन्छ ?
नुहाउने क्रममा शरीरमा पानीको सम्पर्क हुँदा छालामा टाँसिएको धुलो, पसिना र अन्य फोहोर पदार्थहरू धुंधिएर हट्छन् । नुहाएपछि शरीर सफा, ताजा र प्रशन्न महसुस हुन्छ । तर, पानी सुक्ने क्रममा हाम्रो शरीरले केही भौतिक तथा रासायनिक प्रतिक्रिया व्यहोर्छ ।
जब शरीरमा रहेको पानी बिस्तारै वास्पीकरण (वाष्प बन्ने) हुन थाल्छ, त्यसका लागि आवश्यक ऊर्जाको स्रोत हाम्रो शरीरकै तापक्रम हुन्छ । पानी वाष्प बन्न ऊष्मा सोस्ने प्रक्रिया भएकाले शरीरको तापक्रम केही कम हुन्छ । यही कारण नुहाएपछि शरीरमा हल्का चिसोपन महसुस हुन्छ ।
त्यसमा पनि यदि नुहाएपछि तुरुन्तै हावा लाग्यो भने वास्पीकरणको दर अझ तीव्र हुन्छ । हावाले छालामा टाँसिएको पानीलाई छिटो सुकाउँछ, जसले गर्दा शरीरबाट ऊष्मा अझ छिटो निस्कन्छ । फलस्वरूप शरीरको तापक्रम झन् घट्दै जान्छ र हामीलाई बढी चिसो महसुस हुन्छ ।
यसै कारण, नुहाएपछि तुरुन्तै हावा नलग्ने गरी शरीर पुछ्ने र तातो कपडा ओढ्ने बानी स्वास्थ्यका दृष्टिले उपयोगी ठहरिन्छ । यसले शरीरको ताप सन्तुलनमा रहन्छ र ज्वरो वा रुघाखोकीजस्ता सामान्य समस्या देखिन सक्दैन ।
त्यसैले, नुहाएपछि चिसो लाग्नु कुनै अस्वाभाविक कुरा होइन । यो हाम्रो शरीरको स्वाभाविक ऊष्मा–सन्तुलन प्रक्रियाको परिणाम हो, जसले शरीरलाई ताजगी र पुनःउर्जा प्रदान गर्छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया