काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे चलिरहेको बहस बीच नेपाली कांग्रेस र नेकपा एमालेले सोमबार सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच प्रतिनिधिसभा पुनर्स्थापना, आगामी निर्वाचन र दल दर्तासम्बन्धी विषयमा अनौपचारिक छलफल भएको छ।

advertisement

कांग्रेस प्रमुख सचेतक घिमिरेका अनुसार भेट ‘चिया–कफीको गफ’ भन्दै सुरु भए पनि संसद् पुनर्स्थापनाको विषय स्वाभाविक रूपमा उठेको थियो।
उनले भने, ‘चिया खाँदा–खाँदै संसद् पुनर्स्थापना र चुनावको चर्चा भयो। म पुनर्स्थापनाको पक्षमै छु। संविधान संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने भएकाले संसद् पुनर्स्थापना अनिवार्य छ।’

गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएको थियो। आगामी फागुन २१ गते निर्वाचन आयोजना गर्ने गरी मिति तोकिएको छ। आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने माघ ६ गते उम्मेदवारी दर्ताको म्याद तोकिएको छ।

यता निर्वाचन प्रयोजनका लागि दल दर्ता आजदेखि मंसिर १० गतेसम्म खुला गरिएको छ। पहिलो दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलहरूले निवेदन दिइसकेका छन्।

कांग्रेस र एमालेभित्र भने—प्रतिनिधिसभा पुनर्स्थापना गर्ने कि चुनावमा जाने—बारे आन्तरिक बहस जारी छ। कांग्रेस केन्द्रीय समिति यस विषयमा निर्णयमा पुगेको छैन भने एमालेले विघटनलाई पहिलेदेखि नै असंवैधानिक ठहर गर्दै आएको छ।

दुवै दलका प्रमुख सचेतकहरूले विघटित प्रतिनिधिसभा सदस्यहरूको पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरिरहेका छन्। कांग्रेसका ४६ र एमालेका ३२ सांसदले पुनर्स्थापनामा समर्थन जनाइसकेको नेताहरूले जानकारी दिएका छन्।

यस्तै विषयमा थप छलफल गर्न भन्दै एमालेले मंगलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा विघटित प्रतिनिधिसभा संसदीय दलको बैठक बोलाएको छ। बैठकमा वर्तमान राजनीतिक परिस्थितिको संवैधानिक समाधानका लागि दलले खेल्नुपर्ने भूमिकामाथि केन्द्रित भएर छलफल हुने बताइएको छ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com