जलेश्वर । महोत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन् । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका छन् ।

अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०-१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउँछन् ।

advertisement

फूलखेतीमा उनलाई छोराद्वय विकास र आकाशले पनि सघाउँछन् । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेका लालबाबुले बताए । उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्छ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उनले भने ।

उनले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाएका छन् । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताए । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ ।

“एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भने । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उनले जानकारी दिए ।

लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन् । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com