काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सांसदहरूले मन्त्री बन्न नपाउने कडा प्रावधान अघि सारेको छ।

हालै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले यदि आफ्ना सांसदमध्ये कोही मन्त्री नियुक्त भएमा उनको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गर्ने उल्लेख गरेको छ। पार्टीका अनुसार सांसदको मूल दायित्व कानुन निर्माण भएकाले मन्त्रीका पदहरूमा सम्बन्धित क्षेत्रका विशेषज्ञ मात्र नियुक्त हुनुपर्छ।

advertisement

घोषणापत्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने माग राख्दै राष्ट्रपति र उपराष्ट्रपति फरक जाति र लिङ्गका हुनुपर्ने व्यवस्था पनि सुझाएको छ।

‘हर्कवाद’लाई आफ्नो मूल राजनीतिक दर्शन मानेको पार्टीले शिक्षा, राष्ट्रियता तथा प्रशासनिक सुधारका क्षेत्रमा कठोर नीतिहरू प्रस्ताव गरेको छ। शिक्षा क्षेत्रका प्रस्तावअनुसार कक्षा १२ पछि अनिवार्य सैनिक तालिम पूरा गरेपछि मात्र उच्च शिक्षा अध्ययन गर्न पाइने व्यवस्था लागू गरिनेछ। विद्यालयमा सातामा तीन दिन सैद्धान्तिक कक्षा र चार दिन उत्पादनमूलक गतिविधिमा विद्यार्थी संलग्न गरिने उल्लेख छ।

घोषणापत्रमा नेपालमा रहेका सबै आईएनजीओ खारेज गर्ने, सीमा सुरक्षामा सेना परिचालन गर्ने तथा वैवाहिक अङ्गीकृत नागरिकताका लागि पाँच वर्ष अनिवार्य बसोबासको प्रावधान राख्ने योजना सामेल छ।

यसबाहेक, सरकारी कर्मचारीले गल्ती गरेको पाइए सरुवा होइन, सिधै बर्खास्त गर्ने व्यवस्था र श्रमदानलाई राष्ट्रिय नीतिको रूपमा लागू गर्ने एजेन्डाहरू पनि पार्टीले प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीको घोषणापत्रः मूल सिद्धान्त ‘हर्कवाद’

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com