काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने छ ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपालको विविधता झल्काउने २०० भन्दा बढी सांस्कृतिक तथा कलात्मक झाँकी प्रदर्शन गरिनेछ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ । साथै, मैत्रीपूर्ण सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको महाधिवेशन जनपरिचालनका सञ्चालक डा. राजन भट्टराईले जानकारी दिए ।
महाधिवेशनलाई शान्तिपूर्ण र अनुशासित रूपमा सम्पन्न गर्न एमालेका २४ जनसंगठनको सहभागितामा ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा परिचालन गरिनेछ । जनसेवालाई थप व्यवस्थित बनाउन करिब १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ ।
महाधिवेशनका लागि ऐतिहासिक चाँगुनारायण मन्दिरलाई केन्द्रमा राखी उपत्यकाका प्रमुख मन्दिरहरूको झल्को दिने गरी भव्य तथा आकर्षक मञ्च निर्माण गरिएको छ । सहभागीहरूले टाढाबाट पनि वक्तालाई स्पष्ट देख्न र सुन्न सकून् भनेर मञ्चको दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन जडान गरिएको छ । साथै, तीन किलोमिटरसम्म आवाज पुग्ने ११५ वटा उच्च क्षमताका साउन्ड सिस्टम राखिएको छ । मञ्च अगाडि नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ ।
उद्घाटन समारोहमा राष्ट्रिय एकता झल्काउने सांगीतिक तथा सांस्कृतिक प्रस्तुति मञ्चमै प्रस्तुत गरिनेछ । महाधिवेशन उद्घाटनका क्रममा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पाला रिमोटमार्फत बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा महाधिवेशन उद्घाटन गर्नेछन् । ११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा पार्टी झन्डा राखिनेछ, जसमा १० वटा झन्डा सुरुमै फहराइने र एउटा झन्डा रिमोटमार्फत फहराइनेछ ।
महाधिवेशन उद्घाटनमा सहभागी सवारी साधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म आवागमनको व्यवस्था मिलाइएको छ । गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रे हुँदै आउने सवारी साधनका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्यालीसहित सहभागीहरू कार्यक्रमस्थल पुग्नेछन् ।
प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार













प्रतिक्रिया