काठमाडौँ। ललितपुरमा फार्म हाउस बेचेर विदेश जाने तयारीमा रहेका केशवराज हायुको हत्या भएको खुलासा भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका हायु बुल्गेरिया जाने तयारीमा थिए।
हायुले ललितपुरको शेरेफाँटस्थित फार्म हाउस रोल्पाका दीपक थापा मगरलाई बिक्री गरेका थिए। तर पुस २ गते महालक्ष्मी नगरपालिका–८, शेरेफाँटमा रहेको सोही फार्मको इनारमा बोरामा प्याक गरिएको अवस्थामा उनको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीका अनुसार इनार खुला अवस्थामा थियो र स्थानीयले केही तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मंसिर २४ देखि परिवारको सम्पर्कमा नआएका हायुको शव निकाल्दा कम्मरभन्दा माथि कपडा नभएको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनको हत्या गरेर शव इनारमा फालिएको निष्कर्ष निकालिएको छ। पोस्टमार्टमका लागि शव पाटन अस्पतालमा राखिएको छ। अनुसन्धानका क्रममा टाउकोमा गह्रौँ वस्तुले प्रहार गरेर हत्या गरिएको खुलेको ललितपुरका एसएसपी बोगटीले जानकारी दिए।
हत्यामा संलग्न आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल रहेका छन्, जो मृतकका ज्वाईं हुन्। देवराजसहित कम्तीमा तीन जनाको संलग्नतामा हत्या भएको आशंका गरिएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार समूहले हत्या गरेर मोटरसाइकलमार्फत शव तरकारी फार्मको इनारमा फालेको देखिन्छ।
अनुसन्धानबाट ललितपुरस्थित खोलाकिनारमा मदिरा सेवन गर्दै हत्या गर्ने योजना बनाइएको खुलेको छ। शव खुट्टा र मुख टेपले बाँधिएको अवस्थामा भेटिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको ह्यामर, टेप र चप्पल बरामद गरेको छ। घटनास्थलमा भेटिएको चप्पल देवराजकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी बेद पौडेल र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गरिरहेको छ। हत्यामा संलग्न अन्य दुई जना फरार छन्। उनीहरूको पहिचान भइसकेकाले व्यापक खोजी भइरहेको एसएसपी बोगटीले बताए।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












प्रतिक्रिया