काठमाडौं । एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै ११औँ महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले निष्कर्ष दिइसकेको र त्यसको पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
उनले नेतृत्वप्रति सबैले आत्मसमर्पण गर्नुपर्ने होइन, तर समान र सम्मानजनक व्यवहारको अपेक्षा स्वाभाविक भएको उल्लेख गरेका छन्। “नेतृत्व र तरंगित हुने सबैले बुझ्नैपर्छ—सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै बाध्य हुन्छौँ, त्यसबाट कसरी बच्न सकिएला?” भन्दै उनले प्रश्न गरेका छन्।
पोखरेलका अनुसार पार्टी रूपान्तरणका लागि निरन्तर बहस र छलफल, आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा–पाखा नहुने सुनिश्चितता र विभाजनका प्रयासको दृढ विरोध अहिलेको प्रमुख आवश्यकता हो।
महाधिवेशनका क्रममा नेतृत्व चयनमा विभिन्न समूह देखिए पनि अब सबै नेता–कार्यकर्ता यिनै मूल्य र मान्यताबाट निर्देशित हुनुपर्ने उनको भनाइ छ। कसैप्रति आग्रह वा पूर्वाग्रहबाट प्रेरित कटाक्षले पार्टी र आन्दोलनलाई फाइदा नभई नोक्सान मात्र पुर्याउने भन्दै उनले अनावश्यक तरंग नबनाउन आग्रह गरेका छन्।
उनले विधि र प्रक्रियाअनुसार गरिएका संस्थागत निर्णयहरूको निशर्त पालना गर्नुपर्नेमा जोड दिएका छन्। साथै, पार्टी एकता मजबुत बनाउन सबैले जिम्मेवार व्यवहार गर्नुपर्ने, विभाजनका प्रयासको कडा विरोध गर्नुपर्ने र सबै कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण गर्नुपर्ने उल्लेख गरेका छन्।
“यिनै आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ, सबै षड्यन्त्र पराजित गर्न सकिन्छ र नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्य हासिल गर्न सकिन्छ,” पोखरेलले बताएका छन।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया