काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको साझा उम्मेदवारका रूपमा स्वीकार्न सकिने संकेत दिएको छ। रास्वपा सभापति रवि लामिछानेले देशको हित केन्द्रमा राख्दै नयाँ राजनीतिक सहकार्यका लागि ढोका खुला रहेको बताएका छन्।

विश्वसनीय स्रोतका अनुसार लामिछाने र शाहबीच हाल भेटवार्ता भइरहेको छ। कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा दुवैबीच एक्लाएक्लै छलफल भइरहेको स्रोतको दाबी छ। भेटमा देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलन, सुशासन, भ्रष्टाचारविरुद्धको साझा एजेन्डा र आगामी निर्वाचनबारे गम्भीर संवाद भएको बताइएको छ।

सभापति लामिछानेले ‘व्यक्ति होइन, देश प्राथमिकता’ भन्ने अडान दोहोर्‍याउँदै आवश्यक परे प्रधानमन्त्रीको दाबीसमेत त्याग्न तयार रहेको संकेत गरेका छन्। “देश बन्ने हो भने जो सक्षम छ, उसैलाई अगाडि बढाउन हामी तयार छौँ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

रवि–बालेन सहकार्य औपचारिक रूपमा अघि बढेमा नेपाली राजनीतिमा उल्लेखनीय पुनर्संरचना हुनसक्ने आँकलन गरिएको छ। रास्वपा नेतृत्वले यसअघि नै देश निर्माणको एजेन्डामा सहकार्यका लागि खुलापन देखाउँदै आएको थियो। सोही राजनीतिक सन्देशको निरन्तरता स्वरूप यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

स्रोतका अनुसार हाल छलफलमा रास्वपा सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद (डिपी) अर्याल तथा मेयर बालेन शाह र उनका निकट सहयोगी कुमार बेनबी सहभागी छन्।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com