काठमाडौं । धनकुटाको पाख्रिबास–१० चुनवाङका ६४ वर्षीय छत्रमान कुथुमी (पारुहाङ) राईको जीवनको एउटै ठूलो लक्ष्य थियो– देशबाट भ्रष्टाचारको जरैदेखि अन्त्य गरी सुशासनयुक्त राज्य प्रणाली देख्ने। यही सपना बोकेर काठमाडौँलाई कर्मथलो बनाउँदै आएका उनी पछिल्लो समय भ्रष्टाचारविरुद्धका हरेक आन्दोलनमा युवाभन्दा बढी जोसका साथ अग्रमोर्चामा देखिन्थे।
तर, गत भदौ २३ गते भएको ‘जेन्जी’ आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएपछि उनको त्यो सपना अधुरै रहन पुग्यो। कुथुमीको संघर्षको कथा विद्रोह र त्यागले भरिएको छ।
विसं २०१८ मा जन्मिएका उनी तीस वर्षअघि गाउँ छाडेर सहर पसेका थिए। समाजमा व्याप्त बेथिति देख्दा उनी निकै आक्रोसित हुन्थे र त्यसैको विरुद्ध लड्नुलाई नै आफ्नो धर्म मान्थे। पारिवारिक जीवन निकै उतारचढावपूर्ण रहे पनि उनले आफ्नो जोस कहिल्यै मर्न दिएनन्।
काठमाडौँको बलम्बुमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनले भ्रष्टाचारविरुद्धको आन्दोलन घोषणा हुनासाथ आफ्ना सारा दुःख भुलेर सडकमा निस्कन्थे। आन्दोलनका क्रममा ‘मैले छातीमा गोली खानु परे पनि तयार छु’ भनी परिवारसँग भन्ने गरेका उनी नभन्दै सोही आन्दोलनमा १८ जना सहिदमध्ये एक बने।
उनको निधनले ८७ वर्षीया आमा रामकुमारी र सिङ्गो परिवारलाई गहिरो शोकमा डुबाएको छ। ‘आमा, म प्रधानमन्त्री नभई तिम्रो प्राण जाँदैन’ भन्दै ठट्टा गर्ने छोराको काठको बाकसमा शव गाउँ आइपुग्दा चुनवाङ गाउँ नै शोकमा डुबेको थियो।
सरकारले उनलाई कात्तिक १८ गते सहिद घोषणा गर्दै परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। तर, उनका परिवारका सदस्यहरूले भने केवल पैसा मात्र नभई छत्रमान जस्ता सहिदले देखेको भ्रष्टाचारमुक्त समाजको सपना सरकारले पूरा गरिदिनुपर्ने माग राखेका छन्।
छत्रमानको बलिदानपछि उनको मजदुरी गरेर गुजारा चलाउने परिवारको विचल्ली भएको छ। श्रीमती र नानीहरू गाउँ फर्किएका छन्, तर उनीहरूको शिक्षा र जीविकोपार्जनको कुनै स्थायी स्रोत छैन। राज्यका लागि ज्यान आहुति दिने योद्धाको परिवारका लागि सरकारले अभिभावकत्व ग्रहण गरिदिनुपर्ने र बालबालिकाको पढाइको जिम्मेवारी लिनुपर्ने माग उनका भाइहरूले राखेका छन्।
- रासस
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया