काठमाडौँ । लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ।
टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमान मंगलबार साँझ स्थानीय समय अनुसार ८ः५२ बजे उडान भरेको थियो। उडानको करिब ४२ मिनेटपछि विमान सम्पर्कविहीन भएको थियो। आपत्कालीन अवतरणको अनुमति मागेको केही समयमै दुर्घटना भएको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन्।
दुर्घटनामा जनरल हद्दादसहित विमानमा सवार अन्य चार जनाको पनि ज्यान गएको छ। विमानको भग्नावशेष अंकाराको दक्षिण–पश्चिम क्षेत्र हायमाना जिल्लाको केसिक्काभाक गाउँ नजिक फेला परेको छ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबेहले जनरल हद्दादको निधनलाई राष्ट्रका लागि ठूलो क्षति भएको बताउँदै देशप्रति निष्ठा र समर्पणका साथ सेवा गर्ने व्यक्तिहरू गुमाएको उल्लेख गरेका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार












प्रतिक्रिया