काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र बाह्य शक्तिहरूको प्रभाव बढ्दै गएको सन्दर्भमा बीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’ को नीति आज पनि अपरिहार्य रहेको बताएका छन्।
४९औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार जारी सन्देशमा डा. कोइरालाले पाँच दशकअघि जस्तै अहिले पनि विश्व राजनीतिमा महाशक्ति राष्ट्रहरूबीचको स्वार्थ र टकराव स्पष्ट रूपमा देखिन थालेको उल्लेख गरेका छन्। भू–राजनीतिक रूपमा संवेदनशील मुलुक नेपालले आफ्नो राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्न राष्ट्रिय एकता र मेलमिलापको मार्ग अवलम्बन गर्नु बाहेक अन्य विकल्प नरहेको उनको धारणा छ।
उनले सन्देशमा भनेका छन्, “पाँच दशकपछि फेरि अन्तर्राष्ट्रिय स्तरमा शक्तिराष्ट्रहरूको दबाब र स्वार्थ सतहमा आएका छन्। यस्तो अवस्थामा बीपी कोइरालाका विचारलाई मन, वचन र कर्मबाट आत्मसात् गर्नु आजको आवश्यकता हो।”
डा. कोइरालाले राष्ट्रिय मेलमिलापको अवधारणा नेपाली कांग्रेसभित्र सीमित विषय नभई सिंगो राष्ट्रसँग जोडिएको मुद्दा भएको स्पष्ट पारेका छन्। सत्ता, दलगत स्वार्थ र व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्। देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको संरक्षणका लागि बीपीका विचारलाई साझा राष्ट्रिय प्रतिबद्धताको रूपमा स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको उनले बताएका छन्।
यसै क्रममा उनले पार्टीभित्र देखिएका आन्तरिक विवादप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। कांग्रेसको एकता पार्टी सुधारको विषय मात्र नभई राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै डा. कोइरालाले युवा पुस्तालाई शान्त, स्थिर र समृद्ध नेपाल सुम्पन आन्तरिक कलह, मतभेद र व्यक्तिगत महत्वाकाङ्क्षालाई त्याग्नुपर्ने बताए।
उनले चेतावनीस्वरूप भनेका छन्, “यदि जनताको विश्वास र भरोसा कायम गर्न सकिएन भने कांग्रेसको भूमिका क्रमशः कमजोर हुँदै जान्छ। यस यथार्थलाई नजरअन्दाज गरियो भने पार्टी राजनीतिक रूपमा भूमिकाविहीन बन्ने जोखिम रहन्छ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया