काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट कलाकार आशिफ शाहले आफ्नो नाम फिर्ता लिने भएका छन्। उनले सामाजिक सञ्जालमार्फत यसबारे घोषणा गरेका हुन्।
आशिफ शाहले लेखेका छन्, “म राजनीतिमा चासो राख्ने व्यक्ति हुँ, तर सक्रिय राजनीतिमा संलग्न भने छैन। देश बन्नुपर्छ भन्ने हुटहुटी सधैं मेरो मनमा जीवित छ। आम जनताको चाहना अनुसार बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूमा मैले नजिकबाट मूल्याङ्कन गरेको छु, र त्यसै मेहनतलाई देखेर साथीहरूले मलाई ‘सांसद बन्नुपर्छ’ भन्दै सूचीमा नाम राख्नुभयो।”
उनी थप्छन्, “मैले स्पष्ट रूपमा भनेको थिएँ कि राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु। तर साथीहरूको सुझाव थियो कि देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले समानुपातिक प्रणालीमार्फत अघि बढ्नुपर्छ। त्यसै अनुसार मेरो उम्मेदवारी दर्ता भएको हो। तर त्यसपछि आएका समाचार, जनताबाट प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावना हेरेर मैले गहिरो आत्ममन्थन गरेको छु। सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो।”
आशिफ शाहले स्पष्ट पारे, “देश निर्माणमा आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहँदा पनि गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।”
उनी काठमाडौँ–५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन्।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया