एजेन्सी । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई प्रदान गरिँदै आएको आप्रवासी (ग्रिनकार्ड) भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीतिअनुसार यस्तो निर्णय लिइएको जनाएको छ।
समाचार एजेन्सी एपीका अनुसार, यी देशका नागरिक अमेरिकामा आएपछि सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएकाले आप्रवासी भिसा प्रक्रिया रोकिएको हो। विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा आगामी जनवरी २१ देखि लागू हुने गरी कन्सुलर अधिकारीहरूलाई सम्बन्धित देशका आवेदकको भिसा प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको उल्लेख छ।
यो निर्णय नोभेम्बरमा लागू गरिएको ‘पब्लिक चार्ज’ सम्बन्धी कडा नियमको निरन्तरता भएको विदेश विभागले जनाएको छ। मन्त्रालयका अनुसार अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्ने र सरकारी कोषमाथिको भार घटाउने उद्देश्यले नीति कडाइ गरिएको हो। प्रक्रियाको पुनरावलोकनपछि मात्र भिसा पुनः सुचारु गर्ने वा नगर्नेबारे निर्णय लिइने जनाइएको छ।
पर्यटक र विद्यार्थी भिसामा असर छैन
स्थगन आप्रवासी भिसामा मात्र लागू हुने स्पष्ट गरिएको छ। पर्यटक, व्यवसायी तथा विद्यार्थीका लागि जारी हुने गैर–आप्रवासी भिसामा भने प्रत्यक्ष रोक लाग्ने छैन। यद्यपि, यस्ता भिसाका आवेदकमाथि पनि छानबिन प्रक्रिया थप कडा बनाइएको छ।
दूतावासहरूलाई पठाइएको निर्देशनअनुसार, गैर–आप्रवासी भिसा आवेदकले अमेरिकामा सरकारी सुविधा नलिने स्पष्ट प्रमाण पेस गर्नुपर्नेछ। अब आवेदकको उमेर, स्वास्थ्य अवस्था, आर्थिक क्षमता, शिक्षा, सीप तथा अंग्रेजी भाषाको ज्ञानलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरिनेछ। आवश्यक परे अंग्रेजीमै अन्तर्वार्ता लिएर दक्षता परीक्षणसमेत गर्न सकिने व्यवस्था गरिएको छ।
नेपालसहित दक्षिण एसियाली देश प्रभावित
भिसा स्थगित गरिएका देशहरूको सूचीमा नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलगायत दक्षिण एसियाली मुलुकहरू परेका छन्। यसका साथै रुस, इरान, इराक, सोमालिया, नाइजेरिया, ब्राजिल र क्युबालगायत अन्य देशहरू पनि सूचीमा समावेश छन्।
नयाँ व्यवस्थाका कारण अमेरिकामा रहेका परिवारसँग पुनर्मिलन गर्न पर्खिरहेका तथा रोजगारीका आधारमा अमेरिका जान चाहने हजारौँ नेपालीहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया