क्युबा । संयुक्त राज्य अमेरिकाले क्युबामाथि दबाब र धम्की बढाइरहेका बेला चीनले क्युबालाई निरन्तर समर्थन र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। केही हप्ताअघि भेनेजुएलामा हवानाका प्रमुख सहयोगी राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गर्दै अमेरिकी धम्की बढेपछि यो प्रतिक्रिया आएको हो।
बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार राष्ट्रका रूपमा रहँदै आएका छन्। चीनले दशकौँदेखि क्युबामाथि लगाइँदै आएको अमेरिकी आर्थिक नाकाबन्दी र प्रतिबन्धको लगातार विरोध गर्दै आएको छ।
यसै महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई “पतनको नजिक” रहेको भन्दै चेतावनी दिएपछि दुई देशबीचको तनाव थप चर्किएको थियो। ट्रम्पले क्युबालाई “सम्झौतामा आउन” आग्रह गर्दै अन्यथा भेनेजुएलाजस्तै परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा भएको अमेरिकी बम आक्रमणपछि राष्ट्रपति मदुरो पक्राउ परेका थिए भने सो घटनामा दर्जनौँको ज्यान गएको थियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्युबामाथि अमेरिकाले गरिरहेका गतिविधिप्रति गहिरो चिन्ता र आपत्ति जनाउँदै भने, “चीन क्युबामा संयुक्त राज्य अमेरिकाको कार्यशैलीप्रति गम्भीर रूपमा चिन्तित छ र त्यसको कडा विरोध गर्दछ। हामी अमेरिकालाई क्षेत्रीय शान्ति र स्थिरता कमजोर नपार्न आग्रह गर्छौँ।”
उनले वासिङ्टनलाई क्युबामाथि लगाइएका सबै नाकाबन्दी र प्रतिबन्ध तुरुन्त हटाउन पनि आग्रह गरे। “चीनले क्युबालाई सकेसम्म धेरै सहयोग र समर्थन प्रदान गर्न निरन्तरता दिनेछ,” प्रवक्ता गुओले स्पष्ट पारे।
यसैबीच, गत साता प्रकाशित एक रिपोर्टअनुसार ट्रम्प प्रशासनले क्युबामा हुने सबै तेल आयात रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दीको विकल्पसमेत विचार गरिरहेको छ। उक्त रिपोर्टमा ऊर्जा आपूर्तिमा रोक लगाउनु क्युबाली शासनलाई कमजोर बनाउने प्रमुख उपायका रूपमा हेरिएको उल्लेख गरिएको छ।
यस पृष्ठभूमिमा क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार सैन्य अभ्यासको निरीक्षण गर्दै यसलाई सम्भावित अमेरिकी आक्रमणको सामना गर्न गरिएको तयारीका रूपमा व्याख्या गरेका छन्।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया