एजेन्सी। क्युबाको राजधानी हभानामा अमेरिकी शीर्ष कूटनीतिज्ञ माइक ह्यामरमाथि स्थानीय भिडले दुर्व्यवहार गरेपछि संयुक्त राज्य अमेरिकाले क्युबाली सरकारको कडा आलोचना गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले यस घटनालाई “तल्लोस्तरको धम्कीपूर्ण रणनीति” भन्दै क्युबालाई कूटनीतिक कार्यमा अवरोध नगर्न चेतावनी दिएको जनाएको छ।
घटनाका अनुसार, ह्यामरले स्थानीय चर्चका नेतासँगको भेट समाप्त गरेर फर्किने क्रममा केही व्यक्तिहरूले उनका विरुद्ध नाराबाजी गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा भीडले ह्यामरलाई ‘साम्राज्यवादी’ र ‘हत्यारा’ भन्दै गाली गरेको देखिन्छ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि “असाधारण खतरा” घोषणा गरेका थिए। उनले क्युबालाई इन्धन आपूर्ति गर्ने जुनसुकै देशमाथि कर लगाउने चेतावनीसमेत दिएका छन्।
त्यस्तै, क्युबाली सरकारले भने अमेरिकी दूतले देशमा अशान्ति फैलाउन खोजेको र आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ।
सन् १९५९ को क्रान्तिदेखि नै यी दुई देशबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ। पछिल्लो समय क्युबाको आर्थिक संकट र ट्रम्प प्रशासनको बढ्दो दबाबले द्वन्द्वलाई फेरि उत्कर्षमा पुर्याएको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: १९ माघ २०८२, सोमबार













प्रतिक्रिया