काठमाडौं। काठमाडौँ, म्याग्दी र सुर्खेतका विभिन्न स्थानमा बिहीबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा अन्दाजी ३५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
यसैगरी, काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकैको सडक पेटीमा अन्दाजी ६० वर्ष उमेरका अर्का एक पुरुष मृत अवस्थामा भेटिएका छन्। ती व्यक्तिको समेत पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै शवलाई पोस्टमार्टम तथा पहिचानका लागि अस्पताल पठाइएको छ।
काठमाडौँबाहिर, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ चमेरेस्थित निर्माणाधीन राहुघाट हाइड्रोपावर आयोजनाको पावर हाउसभित्र एक जनाको शव फेला परेको छ। मृतक इलाम माई नगरपालिका–९ घर भएका ५५ वर्षीय भिस्म पौडेल रहेको पुष्टि भएको छ।
उता, सुर्खेतको गुर्भाकोट नगरपालिका–२ गैरी बजार नजिकै सडकको नालामा सोही स्थानका ५१ वर्षीय पिमलाल डाँगी मृत अवस्थामा फेला परेका छन्। शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
सबै घटनाका सम्बन्धमा प्रहरीले मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया