काठमाडौं । रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा गरेको रातभरको ड्रोन आक्रमणमा एक आवासीय भवनमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

क्षेत्रका गभर्नर ओलेह किपरले शनिबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए ।उहाँका अनुसार उद्धारकर्मीहरूले आगो चाँडै नियन्त्रणमा लिएका थिए, तर दुर्भाग्यवश आक्रमणमा एक महिलाले ज्यान गुमाए । उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै ड्रोन विस्फोटका कारण आसपासका भवनका झ्यालहरू समेत फुटेको बताए ।

advertisement

यसैबीच, उत्तर–पूर्वतर्फ पर्ने जापोरिझ्झिया क्षेत्रमा पछिल्लो २४ घण्टामा भएका आक्रमणमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । क्षेत्रीय सैन्य प्रमुख इभान फेदोरोभका अनुसार उक्त अवधिमा ४१ बस्तीमा ६५५ वटा आक्रमण गरिएको छ ।

यी घातक आक्रमणहरू जर्मनीको म्युनिखमा आयोजित उच्चस्तरीय सम्मेलनको समयमा भएका हुन्, जहाँ अमेरिका र युरोपेली नेता, कूटनीतिज्ञ तथा रक्षा अधिकारीहरू युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल गरिरहेका छन् । जर्मन सरकारी स्रोतका अनुसार चान्सलर फ्रिडरिख मर्ज र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच युक्रेनको अवस्था, रुससँगको वार्ताको स्थिति तथा विशेषगरी सैन्य सहयोगका विषयमा छलफल भएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि म्युनिखमा विभिन्न सहयोगी राष्ट्रका नेताहरूसँग भेटघाटमा संलग्न हुनुहुन्छ र शनिबार सम्मेलनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा कुनै पनि रुसी अधिकारीलाई आमन्त्रण गरिएको छैन ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com