काठमाडौं । रवि लामिछानेले आफूविरुद्ध सुनियोजित घेराबन्दी र दमनको प्रयास भए पनि त्यसलाई परास्त गर्दै अघि बढेको बताएका छन्। चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा आफूलाई मानसिक तथा भौतिक रूपमा दबाब दिने प्रयास भएको उल्लेख गरे।

सभामा बोल्दै उनले मध्यरातमा आफ्नो निजी आवासमै प्रवेश गरी ‘अन्तिम इच्छा के हो?’ भनेर सोधिएको घटनासमेत स्मरण गरे। त्यतिबेला आफूले कुनै प्रतिक्रिया नदिएको भन्दै उनले आफ्नो ‘अन्तिम इच्छा’ को जवाफ फागुन २१ गते हुने निर्वाचनमा जनताले मतमार्फत दिने विश्वास व्यक्त गरे।

advertisement

उनले आगामी मतदानलाई सामान्य निर्वाचन नभई परिवर्तनको अवसरका रूपमा चित्रण गर्दै यसपटक परिणाममार्फत देशले नयाँ दिशा लिने दाबी गरे। लामिछानेले राजनीतिक संरक्षणमा राज्य संरचनालाई ‘भर्ती केन्द्र’ जस्तै प्रयोग गरिएको, बजेट वितरणमा विभेद गरिएको तथा ‘मैले यति ल्याएँ, उति ल्याएँ’ भन्ने प्रवृत्तिले समग्र विकासमा असन्तुलन ल्याएको आरोप लगाए। अब त्यसको राजनीतिक हिसाब गर्नुपर्ने समय आएको उनले बताए।

आफूविरुद्ध विभिन्न जिल्लामा दर्ता गरिएका मुद्दा र भोग्नुपरेका अन्यायबारे उनले कानुनी रूपमा लड्ने स्पष्ट पारे। व्यक्तिगत प्रतिशोध नलिने तर देशको भविष्यसँग जोडिएका मुद्दामा राजनीतिक जवाफ दिने उनले बताए।

चितवनप्रति पूर्ण विश्वास व्यक्त गर्दै उनले तीन वर्षअघि यही भूमिबाट सुरु भएको ‘निलो क्रान्ति’ आज देशव्यापी रूपमा विस्तार भएको दाबी गरे। चितवनलाई ऐतिहासिक परिवर्तनको सुरुआत गर्ने भूमि भन्दै उनले आगामी यात्रामा देशभरबाट साथ मिल्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com