काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको भ्रमण गर्दै चुनाव तयारी र समग्र परिस्थितिबारे जानकारी लिएकी छन्।
प्रधानमन्त्री कार्कीले आज बिहान बुटवलमा लुम्बिनी प्रदेश र त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरिन्। कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृत्तना पृत्तनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारीहरू तथा अन्य सुरक्षा अधिकारीहरू सहभागी थिए।
छलफलमा प्रमुख सचिव काप्री र पृत्तनापति विष्टले प्रदेशभित्रका २६ निर्वाचन क्षेत्रको अवस्था, चुनाव तयारी र सुरक्षा योजनाबारे प्रस्तुतीकरण दिएका थिए। अन्य सहभागीहरूले पनि आफ्ना क्षेत्रको विस्तृत विवरण प्रस्तुत गरे।
प्रधानमन्त्री कार्कीले छोटो समयमा निर्वाचनको वातावरण तयार पार्न र सुरक्षा योजना तयार गर्न मिहिनेत गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरूलाई धन्यवाद दिइन्।
छलफलका क्रममा उनले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन्। साथै, निर्वाचन वातावरण धमिलो पार्ने तत्वहरूको पहिचान गरी केन्द्रित सुरक्षा व्यवस्था कायम गर्न पनि निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले जनतासँग प्रत्यक्ष सम्पर्कमा जान नसक्ने केही व्यक्ति वा समूहहरूले निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै, यस्ता गतिविधिमा कडा निगरानी राख्न निर्देशन दिइन्।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया