एजेन्सी। इजरायल तथा अमेरिकाको संयुक्त आक्रमणपछि इरानले शनिबार खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरू तथा इजरायल निकट क्षेत्रमा ठूलो स्तरको जवाफी हमला सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले करिब ४०० वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

इरानले इजरायलका अतिरिक्त कतार, बहराइन, युएई, साउदी अरेबिया र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको छ । खाडी क्षेत्रमा बसोबास गर्ने लाखौं नेपालीहरू यस युद्धको प्रत्यक्ष जोखिममा परेका छन् । साउदी अरेबियामा ५ लाखभन्दा बढी, युएईमा ३ लाखभन्दा बढी, कतारमा ४ लाखभन्दा बढी र कुवेतमा करिब १ लाख नेपाली कार्यरत छन् ।

advertisement

युएईको राजधानी अबुधाबीमा इरानी क्षेप्यास्त्र प्रहारबाट ठूलो विस्फोट भएको छ । रोयटर्सका अनुसार अबुधाबीमा दुईवटा आक्रमण भएका छन् । युएईको रक्षा मन्त्रालयले हवाई रक्षा प्रणालीले धेरै क्षेप्यास्त्र रोके पनि केही टुक्रा खसेर क्षति भएको र एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । अल धाफ्रा एयर बेस (अमेरिकी सैन्य अड्डा) लाई पनि निशाना बनाइएको छ । युएईले यो आक्रमणलाई ‘अन्यायपूर्ण र खतरनाक’ भन्दै जवाफ दिने अधिकार सुरक्षित राखेको जनाएको छ ।

कतारको अल उदेइद हवाई अड्डामाथि प्रहार गरिएका इरानी क्षेप्यास्त्रलाई कतारको प्याट्रियट प्रतिरक्षा प्रणालीले बीचमै ध्वस्त पारेको कतार रक्षा मन्त्रालयले बताएको छ । बहराइनमा पनि शक्तिशाली विस्फोटका घटनाहरू भएका छन् । साउदी अरबको रियादमा पनि विस्फोट भएको एएफपीले रिपोर्ट गरेको छ ।

आक्रमणपछि खाडी क्षेत्रमा सुरक्षा चिन्ता चुलिएको छ । धेरै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् र विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । विज एयरले मार्च ७ सम्मका लागि इजरायल, दुबई, अबुधाबी र अम्मानका सबै उडानहरू रद्द गरेको छ । लुफ्थान्साले दुबई, तेल अभिभ, बेरुत र मस्कटका उडानहरू स्थगित गरेको छ । केएलएम, ओमान एयर, रुस, कुवेत र इराकले पनि विभिन्न उडानहरू रद्द वा स्थगित गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको छ ।

इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको कार्यालय तथा आणविक ऊर्जा संगठनलाई निशाना बनाएको थियो । आक्रमणपछि खामेनीलाई सुरक्षित स्थानमा सारिएको रिपोर्ट छ ।

खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुरक्षा तथा उद्धारबारे नेपाल सरकार तथा सम्बन्धित दूतावासहरूले उच्च सतर्कता अपनाएका छन् । स्थिति अत्यन्त तनावपूर्ण बनेको छ र इरानको थप ठूलो जवाफी हमलाको सम्भावनाले विश्वव्यापी चासो बढाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com