काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ। उक्त वार्ता मुख्यतः मध्यपूर्वमा जारी द्वन्द्वका विषयमा केन्द्रित रहेको बताइएको छ।
मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध चाँडो अन्त्य गरी क्षेत्रीय तनाव कम गर्नुपर्ने आवश्यकता औँल्याएको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ। उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा पुनः दोहोर्याएका थिए।
फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले दिएको समर्थन र मानवीय सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले पुटिनसँग टेलिफोन वार्ता गरेको बताएका थिए। ट्रम्पका अनुसार दुई नेताबीच इरान युद्ध तथा रुस–युक्रेन युद्धको अवस्थाबारे छलफल भएको थियो।
ट्रम्पले पुटिनले इरानमा जारी युद्ध अन्त्य गराउन सहयोग गर्ने प्रस्ताव गरेको जानकारी दिएका छन्। तर उनले पुटिनलाई रुस–युक्रेन युद्ध अन्त्य गराउन मद्दत गरे अझ राम्रो हुने बताएका थिए।
ट्रम्पका अनुसार उनले पुटिनलाई भनेका थिए, “यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन सहयोग गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ।”
फेब्रुअरीको अन्तिम साता अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित केही शीर्ष नेताको मृत्यु भएको थियो। त्यसपछि इरानले उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरेको छ।
रुसी राष्ट्रपति पुटिनले सोमबार मोज्तबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले भने नयाँ नेताप्रति असन्तुष्टि जनाउँदै मोज्तबा खामेनीलाई धेरैले नचिनेको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया