सुर्खेत। गुर्भाकोट नगरपालिका–१० की १६ वर्षीया इनिशा विक सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएपछि प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ ।
पोस्टमार्टम रिपोर्ट र पक्राउ परेका व्यक्तिहरूको बयानपछि प्रहरीले यो निष्कर्षमा पुगेको हो ।
फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशा साँझसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
सोही दिन बिहान करिब ९ बजे वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथापाका अनुसार पोस्टमार्टम रिपोर्टमा गोप्य अङ्गमा चोटपटक, उच्च रक्तस्राव र पाठेघर च्यातिएको देखिएको छ ।
यो पनि:
इनिसा विक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न सीआईबी टोली सुर्खेत आउँदै
कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरू र भेरी अस्पताल नेपालगञ्जका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले फागुन २३ र २४ गते चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका सबै १८ वर्ष मुनिका नाबालक रहेका छन् ।
प्रहरीका अनुसार मृतक र पक्राउ परेका मध्ये एकजनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका व्यक्तिहरूको बयान लिने काम जारी छ ।
घटनास्थलमा इनिशाको रक्ताम्य शव, लुछिएको कपाल, मडारिएको घाँस, एकातिर जुत्ता र अर्कोतिर मोजा परेको अवस्था देखिएको थियो ।
मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीहरूलाई हदैसम्मको कारबाही र न्यायको माग गरेका छन् ।
फागुन २५ गते परिवारले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी राखिएको डीएसपी बुढाथापाले बताए ।
यो पनि:
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया