काठमाडौं । नेकपा (एमाले) ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको नकारात्मक भाष्यको वास्तविकता जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्दा निर्वाचनमा अपेक्षाविपरीत परिणाम आएको निष्कर्ष निकालेको छ।
शनिबार नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समीक्षा गरिएको जानकारी दिएका हुन्।
भट्टका अनुसार जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रम, त्यहाँ पार्टीको भूमिका र नेतृत्वमाथि भएका आक्रमणको वास्तविक अवस्था जनतासामु पर्याप्त रूपमा राख्न नसक्दा भ्रमको वातावरण सिर्जना भएको थियो।
उनले भने, ‘जेनजी आन्दोलनका क्रममा के–कस्ता घटनाहरू भए, पार्टीको भूमिका कस्तो रह्यो र नेतृत्व तथा पार्टीमाथि कसरी आक्रमण भयो भन्ने यथार्थ जनताबीच पुर्याउन सकेनौँ। त्यसैले एमाले र यसको नेतृत्वविरुद्ध नकारात्मक भाष्य निर्माण भयो र त्यसको प्रभाव जनमतमा देखियो।’
उनले हाल पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा कुनै विवाद नभएको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया