काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए।

advertisement

पार्टी स्रोतका अनुसार थापा उक्त बैठकमा सहभागी नहुने भएकाले बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। बैठकमा उनले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकार गर्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार चुनावी पराजयको जिम्मेवारी कुनै एक व्यक्तिमाथि मात्रै नरहने, छोटो तयारीका कारण विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पर्याप्त समय नपुगी निर्वाचनमा होमिनुपरेको जस्ता पक्षहरू बैठकमा प्रस्तुत गरिनेछन्। सोही आधारमा थापाको राजीनामा अस्वीकार गर्नुपर्ने प्रस्ताव अघि सारिने बताइएको छ।

पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापा सर्लाही–४ बाट चुनाव लडेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए। विशेष महाधिवेशनबाट चुनिएका अधिकांश पदाधिकारी पनि निर्वाचनमा असफल भएपछि नेतृत्वमाथि नैतिक प्रश्न उठेको थियो।

यसअघि कांग्रेसले सबै निर्वाचन क्षेत्रबाट विजय–पराजयका कारणसहितको प्रतिवेदन माग गरेको थियो। प्राप्त प्रतिवेदनहरूको समग्र निष्कर्ष पनि बैठकमा प्रस्तुत गरिने बताइएको छ। त्यसपछि राजीनामा अस्वीकार गर्ने प्रस्तावमाथि छलफल हुने तयारी छ।

थापाले चुनावलगत्तै राजीनामा दिने संकेत गरे पनि उपसभापति शर्मा लगायत नेताहरूले उनलाई रोक्दै आएका थिए। ललितपुरसहित विभिन्न जिल्लाका नेताहरूले पनि राजीनामा नदिन आग्रह गर्दै संयुक्त वक्तव्यसमेत जारी गरेका थिए। तर बुधबार शीर्ष तहको बैठकपछि थापाले अन्ततः औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

याे पनि :

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com