काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा बिग्रिएर सडक किनारमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा गल्छी गाउँपालिका–२ भुतियाका ५६ वर्षीय खड्गप्रसाद खतिवडाको आइतबार राति मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत घोषित गरिएको थियो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको धनौजी गाउँपालिका–३ कटैया चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २५ वर्षीय अंकित कुमार मण्डलको आइतबार दिउँसो ज्यान गएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अन्य दुई जनालाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ।
महोत्तरीको औरही नगरपालिका–३ श्रीपुरटोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३० वर्षीय रञ्जित साहको आइतबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको जानकी एकेडेमी अस्पताल पर्सामा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३५ वर्षीय हरिराम थारुको आइतबार साँझ मृत्यु भएको छ। उनलाई उपचारका लागि संजिवनी मेडिकल कलेज, नेपालगन्ज लगिएको थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरमा मोटरसाइकल र ट्रक ठोक्किँदा २१ वर्षीय आशिष यादवको आइतबार दिउँसो ज्यान गएको छ। गम्भीर घाइते भएका उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा गोरखाका करिब ३५ वर्षीय रामकुमार कोइरालाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारकै क्रममा निधन भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका–९ साङलियामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५४ वर्षीय ज्योतिलाल खनालको आइतबार बेलुकी मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
यी सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया