काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउबारे प्रतिनिधिसभामा आवाज उठाउने तयारी गरेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेले केपी शर्मा ओलीको पक्राउबारे असन्तुष्टि जनाउँदै उनको रिहाइको माग गर्ने रणनीति बनाएको हो।
आजको बैठकमा शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रमअनुसार एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापाले धारणा प्रस्तुत गर्नेछन्।
‘जेनजी’ आन्दोलनको समयमा प्रधानमन्त्री रहेका अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै एमालेले यसअघि पनि निरन्तर आपत्ति जनाउँदै आएको छ।
उक्त विषय संसद्मा औपचारिक रूपमा उठाइने तयारी रहेको एमाले स्रोतले जनाएको छ। एक सांसदका अनुसार दलका नेताले सम्बोधनका क्रममा यस विषयमा पार्टीको धारणा स्पष्ट पार्नेछन्, यद्यपि संसद्भित्र के कस्तो रणनीति अपनाउने भन्ने विषयमा अझै ठोस निर्णय भने भइसकेको छैन।
एमालेले संविधान र कानुनी व्यवस्थाभित्र रहेर न्याय र विधिको शासन कायम गर्नुपर्ने माग उठाउने बताएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया