एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)को प्रमुख प्राकृतिक ग्यास प्रशोधन केन्द्र ‘हब्शान’मा क्षेप्यास्त्रका अवशेष खस्दा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
अबुधाबी मिडिया अफिसका अनुसार शुक्रबार एयर डिफेन्स प्रणालीले आकाशमै क्षेप्यास्त्र निष्क्रिय बनाएको थियो। तर त्यसका टुक्रा भुइँमा खस्दा ग्यास प्रशोधन केन्द्रका दुई स्थानमा आगलागी भएको हो।
घटनामा एक इजिप्टेली नागरिकको मृत्यु भएको पुष्टि गरिएको छ। अधिकारीहरूका अनुसार उनी कार्यस्थलबाट सुरक्षित स्थानतर्फ सर्ने क्रममा ज्यान गुमाएका हुन्।
त्यसैगरी आगलागी र भागदौडका क्रममा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक सामान्य घाइते भएका छन्। क्षेप्यास्त्रका टुक्राले हब्शान ग्यास फ्यासिलिटीमा उल्लेखनीय क्षति पुर्याएको बताइएको छ भने क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ।
फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि पश्चिम एसियामा तनाव चुलिएको छ। यस अवधिमा इरानले लगातार क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ।
विशेषगरी ऊर्जा पूर्वाधार र नागरिक संरचनालाई लक्षित गरी भइरहेका आक्रमणले खाडी क्षेत्रमा सुरक्षा जोखिम थप बढाएको छ, जसमा यूएई सबैभन्दा प्रभावित मुलुकमध्ये एक बनेको छ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया