मानव सभ्यताको इतिहासमा दोस्रो विश्वयुद्ध एक यस्तो त्रासदीपूर्ण अध्याय हो जसले विश्वको नक्सा मात्र परिवर्तन गरेन, बरु मानवतालाई नै लज्जित तुल्यायो। लन्डन, टोकियो र बर्लिन जस्ता सहरहरू खरानी भएको त्यो घाउ अझै निको नहुँदै आज फेरि विश्व अर्को एउटा महाविनासको सङ्घारमा उभिएको आभास भइरहेको छ। इतिहास साक्षी छ, सन् १९१९ को भर्साइलको सन्धिले जर्मनी माथि जुन अपमान र आर्थिक भार थोपरेको थियो, त्यसैले एडोल्फ हिटलर जस्तो क्रूर तानाशाहको उदय गरायो। आजको भूराजनीतिलाई नियाल्दा इतिहासले फेरि आफूलाई दोहोर्याउन खोजेको प्रस्ट देखिन्छ। विगतमा उग्र राष्ट्रवाद र जातीय अहङ्कारले युद्ध निम्त्याएको थियो भने आज साम्राज्यवादी महत्त्वाकाङ्क्षा र परमाणु शक्तिको होडबाजीले विश्वलाई तेस्रो विश्वयुद्धको दिशामा धकेलिरहेको छ।
दोस्रो विश्वयुद्धको समयमा हिटलरले ‘लेवेन्सराउम’ अर्थात् जर्मन जातिका लागि अतिरिक्त भू-भागको माग गर्दै अस्ट्रिया र चेकोस्लोभाकिया हडपेका थिए। वर्तमानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन माथिको कदमलाई धेरैले हिटलरको त्यही विस्तारवादसँग तुलना गरिरहेका छन्। सन् १९३९ मा पोल्याण्ड माथि भएको आक्रमणले दोस्रो विश्वयुद्ध सुरु गरे झै, आज युक्रेन र रुसको द्वन्द्वले युरोपलाई पुनः युद्धको अखडा बनाएको छ। पुटिनले सोभियत संघको पुरानो गौरव फर्काउने नाममा छिमेकी राष्ट्रको सार्वभौमसत्ता मिच्दा नेटो राष्ट्रहरू र रुस बीच सिधा टकरावको स्थिति सिर्जना भएको छ। विगतमा ‘ब्लिट्जक्रिग’ रणनीतिले जमिन कब्जा गरिन्थ्यो भने आज साइबर युद्ध र ड्रोन प्रविधिले युद्धलाई झन् घातक र अनिश्चित बनाइदिएको छ।
प्रशान्त महासागर क्षेत्रमा विगतमा जापानको बढ्दो प्रभावले अमेरिकालाई युद्धमा तानेको थियो। आज एसियामा चीन र ताइवान बीचको तनावले त्यस्तै मोड लिने देखिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘एक चीन नीति’ अन्तर्गत ताइवानलाई जुनसुकै मूल्यमा गाभ्ने उद्घोष गरिरहँदा, अमेरिका र उसका सहयोगी राष्ट्रहरू जापान र अस्ट्रेलिया सतर्क बनेका छन्। दक्षिण चीन सागरमा भइरहेको सैन्य सुदृढीकरण र अमेरिकाको हिन्द-प्रशान्त रणनीतिले सन् १९४० को दशकको जापानी विस्तारवाद र त्यसलाई रोक्न खोज्ने अमेरिकी प्रयासको झल्को दिन्छ। यदि ताइवान माथि सैन्य कारबाही भयो भने त्यसले विश्वका दुई ठुला महाशक्तिलाई सिधा युद्धमा उतार्ने निश्चित छ, जसको परिणाम दोस्रो विश्वयुद्ध भन्दा कयौ गुणा भयानक हुनेछ।
वर्तमान समयमा मध्यपूर्व केवल एउटा संवेदनशील क्षेत्र मात्र नभई तेस्रो विश्वयुद्धको वास्तविक विष्फोटक केन्द्र बनिसकेको छ। दोस्रो विश्वयुद्धका क्रममा यस क्षेत्रको तेल भण्डारका लागि शक्ति राष्ट्रहरू बीच लुकामारी चलेको थियो भने आज यहाँ ‘पूर्ण-स्तरको’ महायुद्धको ज्वाला दन्किरहेको छ। इरानले आफ्नो भूमिबाट इजरायलमा मात्र नभई जोर्डन, इराक, सिरिया, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन जस्ता झन्डै नौवटा छिमेकी मुलुकहरूमा रहेका सैन्य अखडा र रणनीतिक निशानाहरूमा सयौ ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेर यो द्वन्द्वलाई क्षेत्रीय महासंग्राममा बदलेको छ। यस युद्धमा संयुक्त राज्य अमेरिका अब केवल समर्थक वा हतियार आपूर्तिकर्ता मात्र रहेन, बरु आफ्ना विशाल विमानवाहक जहाज, उन्नत क्षेप्यास्त्र रक्षा प्रणाली र विशेष सैन्य दस्ताहरू मार्फत युद्धको मैदानमा प्रत्यक्ष र पूर्ण रूपमा उत्रिएको छ। इरानी समर्थित समूहहरूले अमेरिकी सैन्य क्याम्पहरूमा गरेको हमला र त्यसको जवाफमा अमेरिकाले इरानी भूमिमै गरेको सिधा सैन्य हस्तक्षेपले गर्दा मध्यपूर्व अहिले विश्वकै सबैभन्दा खतरनाक युद्धमैदान बनेको छ।
दोस्रो विश्वयुद्धमा इटाली र जर्मनीको ‘प्याक्ट अफ स्टिल’ जस्तै आज रुस, इरान र उत्तर कोरिया बीचको सैन्य सामीप्यताले एउटा नयाँ र घातक ‘युद्ध-अक्ष’ निर्माण गरेको छ। यस विषम परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विवादास्पद र आक्रामक बयानबाजीहरूले जलिरहेको आगोमा घिउ थप्ने काम गरेका छन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत दिने “पूर्ण विनास” का धम्कीपूर्ण स्थिति र कूटनीतिक मर्यादा बाहिरका अभिव्यक्तिहरूले गर्दा विश्व समुदायमा थप त्रास फैलिएको छ। ट्रम्पको यस्तो ‘मूर्खतापूर्ण’ र अदूरदर्शी कदमले मित्र राष्ट्रहरू बीच समेत अन्योल सिर्जना गरेको छ भने शत्रु राष्ट्रहरूलाई झन् आक्रामक बन्न उक्साएको छ। एकातिर इरानको अस्तित्व र आत्मरक्षाको लडाइ अर्कोतिर इजरायलको विस्तारवाद र अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नता तथा अनियन्त्रित नेतृत्वका कारण तेस्रो विश्वयुद्धको औपचारिक आरम्भ भइसकेको सङ्केत मिल्दछ। यसले गर्दा मानवता पुनः एक पटक सन् १९४० को दशकको जस्तै विनासको अन्तिम बिन्दुमा पुगेको छ, जहाँ सानो प्राविधिक वा राजनीतिक गल्तीले पनि सम्पूर्ण पृथ्वीको अस्तित्व समाप्त पार्न सक्छ।
दोस्रो विश्वयुद्धको समयमा विन्स्टन चर्चिल जस्ता दृढ नेताले लोकतन्त्रको रक्षाका लागि अडान लिएका थिए। आज पश्चिमा जगतमा युरोपेली नेताहरूले रुसी विस्तारवादलाई रोक्न गरिरहेको प्रयासलाई त्यस्तै ऐतिहासिक मोर्चाबन्दीका रूपमा हेरिएको छ। तर, विगत र वर्तमानमा एउटा ठुलो भिन्नता छ – त्यो हो परमाणु हतियारको उपलब्धता। दोस्रो विश्वयुद्धको अन्त्यमा हिरोशिमा र नागासाकीमा भएको आणविक प्रहारले युद्ध समाप्त गरेको थियो। तर आज रुस, अमेरिका, चीन, इजरायल र उत्तर कोरिया सबै आणविक शक्ति सम्पन्न छन्। उत्तर कोरियाली नेता किम जोङ उनले बारम्बार दिने आणविक धम्की र आधुनिक क्षेप्यास्त्र परीक्षणले सानो गल्तीले पनि मानव जातिको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा बढाएको छ।
विगतमा हिटलरले प्रोपेगान्डा र रेडियोको प्रयोग गरेर मानिसलाई विभाजित गरेका थिए भने आज ‘गलत सूचना’ (Information Warfare) र सामाजिक सञ्जाल मार्फत जनतालाई उक्साउने काम भइरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्सको युगमा युद्ध सुरु हुनु अघि नै मनोवैज्ञानिक रूपमा जनतालाई विभाजित गरिन्छ। विभिन्न देशमा उदाउँदै गरेका राष्ट्रवादी र दक्षिणपन्थी नेताहरूको शैलीले सन् १९३० को दशकको युरोपको सम्झना गराउँछ, जहाँ संवाद भन्दा हतियार र धम्कीको भाषा बढी बोल्न थालिएको थियो। आजको विश्वमा पनि अन्तर्राष्ट्रिय कानुन र सन्धिहरूको पालना गर्नु भन्दा आफ्नो शक्ति प्रदर्शन गर्ने होडबाजी बढेको छ। यसले विश्वलाई पुनः एउटा ठुलो ध्रुवीकरणतर्फ लगिरहेको छ जहाँ मानवता दोस्रो प्राथमिकतामा परेको छ।
दोस्रो विश्वयुद्धको समयमा एलायन्स र एक्सिस पावर बीचको स्पष्ट विभाजन थियो। आजको समयमा पनि विश्व दुई धारमा बाँडिएको प्रस्ट देखिन्छ। एकातिर अमेरिका र युरोपेली युनियनको नेतृत्वमा रहेका लोकतान्त्रिक राष्ट्रहरू छन् भने अर्कोतिर रुस र चीनको नेतृत्वमा रहेका शक्तिहरू। यो ध्रुवीकरणले संयुक्त राष्ट्र संघ जस्ता शान्ति स्थापना गर्ने संस्थाहरूलाई प्रभावहीन बनाइदिएको छ। जसरी दोस्रो विश्वयुद्ध अघि ‘लिग अफ नेसन्स’ असफल भएको थियो, आज संयुक्त राष्ट्र संघ पनि महाशक्ति राष्ट्रहरूको स्वार्थका अगाडि लाचार देखिएको छ। भिटो पावरको दुरुपयोगले गर्दा महत्त्वपूर्ण शान्ति प्रक्रियाहरू अवरुद्ध भएका छन्, जसले साना राष्ट्रहरूलाई असुरक्षित र ठुला राष्ट्रहरूलाई युद्धका लागि थप उत्साहित बनाएको छ।
इतिहासले सिकाएको पाठ यो हो कि तानाशाही महत्त्वाकाङ्क्षा र संवादको अभावले सधै विनास निम्त्याउँछ। विगतमा बेलायती प्रधानमन्त्री नेभिल चेम्बरलेनले हिटलरलाई खुसी पारेर युद्ध रोक्न खोजेका थिए, जसलाई ‘तुष्टीकरणको नीति’ भनिन्छ। तर त्यसले हिटलरलाई झन् शक्तिशाली र आक्रामक मात्र बनायो। आज पनि धेरै विश्लेषकहरू चेतावनी दिन्छन् कि यदि ट्रम्प, नेतान्याहु वा अन्य आक्रामक नेताहरूलाई समयमै रोकिएन भने भविष्यमा उनीहरूले अझ ठुलो युद्ध निम्त्याउनेछन्। वर्तमानका नेताहरूले विगतको त्यो गल्तीबाट पाठ सिक्नु जरुरी छ। हतियारको बलमा शान्ति खोज्नु भन्दा कूटनीतिक संवाद र आपसी सम्मानको बाटो रोज्नु नै तेस्रो विश्वयुद्धबाट जोगिने एकमात्र उपाय हो, अन्यथा विगतको विनास दोहोरिन बेर लाग्दैन।
दोस्रो विश्वयुद्धले देखाएको विनासको अर्को पाटो आर्थिक संकट पनि हो। युद्धले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाएको थियो। आज पनि युक्रेन र मध्यपूर्वको युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जा र खाद्यान्नको मूल्य बढेको छ। यसले गरिब राष्ट्रहरूलाई झन् ठुलो संकटमा धकेलेको छ। यदि यो तनाव तेस्रो विश्वयुद्धमा परिणत भयो भने विश्वको आपूर्ति प्रणाली पूर्ण रूपमा ध्वस्त हुनेछ। विगतमा औद्योगिक उत्पादनले युद्ध जिताएको थियो भने आजको युद्धमा प्रविधि र आर्थिक प्रतिबन्धहरू प्रमुख हतियार बनेका छन्। आर्थिक रूपमा अन्तरसम्बन्धित आजको विश्वमा युद्ध हुनु भनेको सबै पक्षको हार हुनु हो, तर पनि नेताहरू राजनीतिक स्वार्थका लागि यो जोखिम मोल्न तयार देखिएका छन्।
दोस्रो विश्वयुद्धपछि स्थापित ‘न्यु वर्ल्ड अर्डर’ अहिले हल्लिएको छ। अमेरिकाको एकछत्र प्रभुत्वलाई चीन र रुसले चुनौती दिइरहेका छन्। यो सत्ताको हस्तान्तरण वा परिवर्तनको समय सधै द्वन्द्वपूर्ण हुने गर्दछ। विगतमा बेलायतको शक्ति क्षीण हुँदै जाँदा र जर्मनीको उदय हुँदा युद्ध भएको थियो। अहिले पनि स्थापित शक्ति र उदाउँदो शक्ति बीचको यो ‘थुसिडाइड्स ट्र्याप’ ले तेस्रो विश्वयुद्धको खतरालाई जीवितै राखेको छ। सी चिनफिङ र पुटिनको सामीप्यताले नयाँ वैश्विक सन्तुलन खोजिरहेको छ। यो शक्ति सङ्घर्षमा साना राष्ट्रहरू फेरि एक पटक ठुला राष्ट्रहरूको क्रिडास्थल बन्ने डर बढेको छ, जसरी विगतमा पोल्याण्ड र चेकोस्लोभाकिया बनेका थिए।
अन्त्यमा, दोस्रो विश्वयुद्धको भयानक अन्त्य परमाणु बमको प्रहारबाट भएको थियो जसले मानवताको हृदयमा कहिल्यै नमेटिने दाग छाड्यो। आजका परमाणु हतियारहरू हिरोशिमामा खसालिएका बम भन्दा हजारौ गुणा बढी शक्तिशाली छन्। यदि तेस्रो विश्वयुद्ध सुरु भयो भने यसमा कुनै विजेता हुने छैन, केवल पराजित मानवता मात्र बाँकी रहनेछ। अल्बर्ट आइन्स्टाइनले भनेका थिए, “मलाई थाहा छैन तेस्रो विश्वयुद्ध कुन हतियारले लडिनेछ, तर चौथो विश्वयुद्ध भने ढुङ्गा र लौरोले लडिनेछ।” उहाँको यो भनाइले आणविक विनासको चरम सीमालाई बुझाउँछ। त्यसैले वर्तमानका नेताहरूले आफ्ना अहङ्कार र विस्तारवादी सोचलाई त्यागेर भावी पुस्ताका लागि सुरक्षित पृथ्वी छाड्ने जिम्मेवारी बोध गर्नुपर्दछ।
निष्कर्षमा भन्नुपर्दा, दोस्रो विश्वयुद्धको इतिहासले सिकाएको पाठलाई आजको नेतृत्वले पूर्णतः बिर्सिएको भान हुन्छ। विगतमा हिटलरको तानाशाहीलाई रोक्न नसक्दा करोडौले ज्यान गुमाउनु परेको थियो भने आज मध्यपूर्वको यो भीषण लडाइ र त्यसमा महाशक्ति राष्ट्रहरूको सिधा भिडन्तले त्यो भन्दा भयानक प्रलयको सङ्केत गरिरहेको छ। जोर्डनदेखि कुवेतसम्म फैलिएको युद्धको यो डढेलो र ट्रम्प जस्ता नेताहरूको उत्तेजक शैलीले विश्वलाई परमाणु महाप्रलयको मुखमा पुर्याएको छ। यदि समयमै कूटनीतिक संवाद र संयमता अपनाइएन भने, तेस्रो विश्वयुद्धले सिर्जना गर्ने खरानीमा इतिहास लेख्ने कोही बाँकी रहने छैन। अतः, विगतको रगतको होलीबाट पाठ सिकेर मानवता जोगाउनु नै वर्तमान विश्वको एकमात्र र अन्तिम विकल्प हो।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया