एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा तय गरिएको शान्ति वार्ताको दोस्रो चरणबाट इरान पछि हटेपछि मध्यपूर्वमा पुनः युद्ध चर्किने खतरा बढेको छ।
जारी युद्धविरामको अवधि सकिन लाग्दा अमेरिका र इरान दुवैले एकअर्काप्रति कडा चेतावनी दिँदै आवश्यक परे पुनः सैन्य कारबाही सुरु गर्न तयार रहेको संकेत दिएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा स्टिभ विट्कोफ र जेरेड कुश्नर सम्मिलित टोली वार्ताका लागि इस्लामाबाद जान तयारी अवस्थामा रहेकै बेला इरानले वार्ताबाट बाहिरिने निर्णय सार्वजनिक गरेको हो।
गत आइतबार अमेरिकी नौसेनाले इरानी झण्डावाहक एक मालवाहक जहाज नियन्त्रणमा लिएपछि तनाव थप चर्किएको छ। अमेरिकाले उक्त जहाजले नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेको आरोप लगाएको छ भने इरानले यसलाई उक्साहटपूर्ण कदम भन्दै विरोध जनाएको छ।
गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि इरानले होर्मुज जलडमरूमध्य बन्द गरेको थियो। त्यसपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा कडा नौसैनिक नाकाबन्दी लागू गरेको हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानले बिना सर्त होर्मुज जलडमरूमध्य नखोलेसम्म नाकाबन्दी जारी रहने बताएका छन्। उनका अनुसार यस कदमका कारण इरानलाई दैनिक करिब ५० करोड डलर बराबरको आर्थिक क्षति भइरहेको छ।
इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकाले धम्की र दबाबमार्फत इरानलाई झुकाउन खोजेको आरोप लगाउँदै यस्तो अवस्थामा कुनै पनि वार्ता सम्भव नहुने बताएका छन्। साथै, इरान पछिल्ला दुई सातादेखि नयाँ रणनीतिका साथ सम्भावित युद्धका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो अनुमति बिना होर्मुज जलमार्ग प्रयोग गर्न खोज्ने कुनै पनि जहाजमाथि कारबाही गरिने चेतावनी दिएको छ।
यो तनावको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत परेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्ग अवरुद्ध भएपछि इन्धनको मूल्य करिब ४० प्रतिशतले बढेको छ। हाल ब्रेन्ट कच्चा तेल प्रति ब्यारेल ९५ डलरमा कारोबार भइरहेको छ, जुन सामान्य अवस्थाको तुलनामा अझै उच्च मानिन्छ।
कूटनीतिक प्रयासहरू कमजोर बन्दै जाँदा मध्यपूर्वमा ठूलो सैन्य मुठभेडको जोखिम झन् बढ्दै गएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया