काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङ लाई २४ घण्टाभित्र राजीनामा दिन चेतावनी दिएको छ। निर्धारित समयभित्र राजीनामा नआए सडक संघर्षमा उत्रने घोषणा गरिएको छ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अभियानका संयोजक सुनिल सिंह ले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले तत्काल पदबाट हटेर मार्ग प्रशस्त गर्नुपर्ने बताए। उनले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गरिएको आरोपसमेत लगाए।

advertisement

‘यसअघि दिपककुमार साह लाई स्पष्टीकरण दिने अवसरसमेत नदिइएको अवस्थामा अहिले गृहमन्त्रीप्रति फरक मापदण्ड अपनाइएको देखिन्छ, जुन न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो,’ सिंहले भने।

अभियानका सह–संयोजक अजय सोडारी ले पनि गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग दोहोर्‍याए। उनले राजनीतिमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको भन्दै हालको अवस्थाले जनविश्वास कमजोर बनाएको टिप्पणी गरे।

त्यस्तै, सचिव प्रकाश बम ले भदौ २३–२४ को आन्दोलनबाट स्थापित सरकारका गृहमन्त्रीमाथि प्रश्न उठ्दा पदबाट अलग हुनु नै उपयुक्त हुने धारणा राखे। उनले पूर्व गृहमन्त्री रवि लामिछाने ले आरोप लागेपछि राजीनामा दिएको प्रसंग उल्लेख गर्दै वर्तमान अवस्थामा पनि समान अभ्यास हुनुपर्ने बताए।

अभियानले प्रधानमन्त्री बालेन्द्र शाह र सरकारप्रति समेत आलोचना गर्दै नेतृत्वले पारदर्शिता र जवाफदेहिता देखाउनुपर्ने माग गरेको छ।

जेनजी अभियानले दिएको अल्टिमेटमपछि राजनीतिक रूपमा नयाँ तनाव उत्पन्न हुने संकेत देखिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com