काठमाडौं । सरकार गठन भएको एक महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्मा दुई मन्त्री बाहिरिए का छन्।
मन्त्री बनेको दुई सातामै चैत २६ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह बर्खास्त भएका थिए भने गृहमन्त्री सुधन गुरुङ ले २७ दिनमै पदबाट राजीनामा दिएका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री गुरुङले बुधबार (बैशाख ९) प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। उक्त विषय सार्वजनिक भएसँगै उनीमाथि चौतर्फी दबाब बढेको थियो।
दुई दिनअघि नै विवाद बाहिरिए पनि केही ढिलाइ गर्दै गुरुङले राजीनामा दिएका हुन्। विवाद सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। सोहीअनुसार गुरुङले पद त्याग गरेका हुन्।
राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले नैतिक प्रश्न उठेकाले पदमा बसिरहन उपयुक्त नदेखिएको बताएका छन्।
यसअघि तत्कालीन श्रममन्त्री साहलाई श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा पदीय मर्यादाविपरीत नियुक्ति दिएको आरोपमा प्रधानमन्त्री शाहले बर्खास्त गरेका थिए।
दुवै मन्त्री विवादमा परेपछि प्रधानमन्त्री शाहले स्पष्टीकरण सोधेका थिए। छोटो अवधिमै दुई मन्त्री बाहिरिँदा सरकारको कार्यशैली र सुशासनमाथि प्रश्न उठ्न थालेको छ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया