काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्न नदिएको विषयमा व्यापक चर्चा भएको छ।

बैठकमा सहभागी सदस्यहरूले सुहाङ नेम्वाङलाई नेतृत्वमा पुग्न पार्टीभित्रैबाट अवरोध गरिएको भन्दै युवालाई अवसर दिने विषयमा अझै स्पष्ट सोच नबनेको टिप्पणी गरेका छन्।

advertisement

एक सचिवालय सदस्यका अनुसार बैठकमा सहभागीहरूले एमालेभित्र रूपान्तरण र पुस्तान्तरणका लागि युवा तथा विद्यार्थी तहबाट अझ बढी मेहनत आवश्यक रहेको धारणा राखेका थिए।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आइतबार बसेको बैठकमा सचिवालयका ५८ सदस्यमध्ये २८ जना मात्र उपस्थित भएका थिए।

बैठकमा सहभागी अधिकांश सदस्यहरूले संगठनका अध्यक्ष दीपक धामीमाथि पनि प्रश्न उठाएका थिए।

चुनावमा पराजित भएपछि पनि आफूलाई विद्यार्थी नेता भन्दै हिँड्नु कत्तिको उचित हो भन्ने प्रश्न बैठकमा उठाइएको बताइएको छ।

सचिवालय सदस्य योगेश बम र नितेश लामिछाने बाहेक अधिकांश सदस्यहरूले पुस्तान्तरण अनिवार्य रहेको बताएका थिए।

उनीहरूले समयमै नेतृत्व हस्तान्तरण नभए पार्टीमा युवाहरू टिक्न कठिन हुने धारणा राखेका थिए।

त्यसैगरी केही सदस्यहरूले ‘बोल्न दे सरकार’ लेखिएको कालो पट्टी बाँध्ने प्रस्तावप्रति सुरुमै असहमति जनाएका थिए।

बैठकले अन्ततः १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै समसामयिक विषयमा प्रस्ताव सार्वजनिक गरेको छ।

घोषणापत्रमा शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित मागहरू समेटिएका छन्।

साथै आधारभूत तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य बनाउन तथा माध्यमिक शिक्षालाई पनि निःशुल्क बनाउन सरकारसँग माग गरिएको छ।

विद्यार्थीहरूले सार्वजनिक यातायातमा पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि संगठनले सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com