काठमाडौं। बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनी मा आयोजना हुने विशेष समारोहमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रमबाट प्रधानमन्त्री बालेन्द्र शाह अन्तिम समयमा पछि हटेका छन्।
प्रधानमन्त्री बालेन उक्त समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने तयारी रहे पनि बुधबार अचानक उनी उपस्थित हुन नसक्ने जानकारी आएको लुम्बिनी विकास कोष ले जनाएको छ।
कोषका सदस्य श्याम रोक्काका अनुसार प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण कार्यक्रममा सहभागी हुन नसकिने सन्देश प्राप्त भएको हो।
प्रधानमन्त्री सहभागी नहुने भएपछि अब समारोहमा डोलप्रसाद अर्याल लाई प्रमुख अतिथि बनाइएको छ।
सभामुख आजै लुम्बिनी पुग्ने र बुद्ध जयन्ती समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनका स्वकीय सचिवले बताएका छन्।
यद्यपि प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।
निकट स्रोतहरूका अनुसार कोषका उपाध्यक्ष ल्हारक्याल लामासँग एउटै मञ्च साझा गर्न नचाहेकै कारण बालेनले कार्यक्रममा नजाने निर्णय गरेको दाबी गरिएको छ।
यसअघि रामचन्द्र पौडेल लाई पनि समारोहमा निम्त्याउने विषयमा चर्चा भएको थियो।
तर, प्रधानमन्त्रीलाई प्राथमिकता दिइएकाले राष्ट्रपतिलाई अन्तिम रूपमा निमन्त्रणा नपुगेको बताइएको छ।
पछि प्रधानमन्त्री नजाने भएपछि राष्ट्रपतिलाई बोलाउने प्रयास भए पनि उनले पनि व्यस्तता जनाउँदै सहभागी हुन नसक्ने जानकारी दिएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री बालेनको अचानक निर्णय परिवर्तनले बुद्ध जयन्तीजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको कार्यक्रममा राजनीतिक चासो थप बढाएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया