काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गरेका छन्।

शनिबार शीतल निवास पुगेर आङ्देम्बेले विपक्षी दलहरूको साझा धारणा राष्ट्रपतिसमक्ष राख्दै उक्त अध्यादेश रोक्न ध्यानाकर्षण गराएका हुन्।

advertisement

भेटका क्रममा उनले सरकारले संसद् छल्दै अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी व्यवस्था ल्याउन खोजेको भन्दै त्यसप्रति विपक्षी दलहरूको गम्भीर आपत्ति रहेको जानकारी गराए। संसद् अधिवेशन बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको उनको भनाइ थियो।

यसअघि कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने र यथाशीघ्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का नेताहरू सहभागी थिए।

सोही संयुक्त निर्णयअनुसार विपक्षी दलहरूको आधिकारिक धारणा लिएर आङ्देम्बे राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

पछिल्लो समय सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै विपक्षी दलहरूले तीव्र असन्तुष्टि जनाउँदै आएका छन्। संसद् अवरुद्ध रहेको अवस्थाको फाइदा उठाउँदै संवैधानिक नियुक्तिहरूमा आफ्नो अनुकूल निर्णय गर्न सरकार अध्यादेशको बाटोमा गएको विपक्षी दलहरूको आरोप छ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com