काठमाडौं । नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले ‘पुनर्जागरण भेला’ आयोजना गरेका छन्।
शनिबार काठमाडौंको मीनभवनमा सम्पन्न भेलामा केन्द्रीय सदस्यसहितका प्रभावशाली युवा नेताहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।
करिब चार घण्टासम्म चलेको उक्त भेलाले पार्टीको हालैको चुनावी पराजयका लागि नेतृत्वको कार्यशैली र कमजोरी नै मुख्य कारण भएको ठहर गरेको छ। भेलामा केन्द्रीय सदस्यहरू झपट रावल, नरेश रोकाया, समिक बडाल लगायत करिब १३० जना नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
सहभागीहरूले वर्तमान नेतृत्वले युवाहरूको भूमिकालाई योजनाबद्ध रूपमा कमजोर बनाएको, सक्षम व्यक्तिहरूलाई गुटबन्दीको आरोप लगाउँदै जिम्मेवारीबाट टाढा राखिएको आरोप लगाए। अध्यक्षले पार्टीलाई नियन्त्रणमा राख्दै विचारको स्वतन्त्र बहससमेत अवरुद्ध गरेको भन्दै भेलाले अब सातै प्रदेशमा पुनर्जागरण र पुस्तान्तरणको पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
एमालेकी पूर्व केन्द्रीय सदस्य नवीना लामाले पार्टी रूपान्तरण अब टार्न नसकिने आवश्यकता भइसकेको उल्लेख गर्दै विशेष महाधिवेशनको मागलाई देशभर बहसका रूपमा लैजाने बताइन्। त्यसैगरी, अनेरास्ववियुका उपमहासचिव कमल जोशीले वर्तमान नेतृत्वबाट पार्टीले सही दिशा लिन नसक्ने दाबी गर्दै नेतृत्व परिवर्तनको मुद्दा सशक्त रूपमा उठाइने बताए।
यसअघि नै १५ बुँदे रूपान्तरण प्रस्ताव अघि सारेका युवा नेताहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन अभियानलाई पनि तीव्र बनाउने निर्णय गरेका छन्।
भेलामा सहभागी अधिकांश वक्ताहरूले अध्यक्ष ओलीले नेतृत्व नछाडेसम्म पार्टीको भविष्य संकटमा पर्ने भन्दै खुला रूपमा आलोचना गरेका थिए।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, अनेरास्ववियुका पूर्व अध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया, युवा संघका उपमहासचिव उपेन्द्र शाही लगायतले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताएका छन्।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार












प्रतिक्रिया