वर्तमान समयमा अमेरिका र इरानबीच चलिरहेको युद्धले विश्व राजनीतिक रङ्गमञ्चमा मात्र होइन, अमेरिकी संसद् (कंग्रेस) भित्र पनि एउटा ठूलो वैचारिक भूकम्प ल्याएको छ। राष्ट्रपति ट्रम्पको प्रशासनले यस सैन्य कारबाहीलाई “एक अभूतपूर्व र आश्चर्यजनक सफलता” को रूपमा व्याख्या गरिरहेको भए तापनि विपक्षी दलका सांसदहरूले भने यसलाई “रणनीतिक महाभूल” को संज्ञा दिएका छन्। युद्ध सचिव पिट हेगसेथले कंग्रेसको सुनुवाइका क्रममा इरानको आणविक क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारिएको र होर्मुजको जलसन्धिमा अमेरिकी घेराबन्दीले इरानी शक्तिलाई घुँडा टेकाउन सफल भएको दाबी गर्नु भएको छ। तर, कंग्रेसका सदस्यहरूले भने यस युद्धको ठोस औचित्य र यसले अमेरिकी नागरिकको ढाड सेकिने गरी निम्त्याएको आर्थिक सङ्कट माथि कडा प्रश्न प्रहार गरेका छन्।
कंग्रेसमा भइरहेको यो घम्साघम्सीले के प्रस्ट पार्छ भने, ह्वाइट हाउस प्रशासन युद्धको वास्तविक लागत र यसको दीर्घकालीन परिणामका बारेमा अझै पनि अन्योलमा छ। सचिव हेगसेथले इरानको आणविक खतरालाई निस्तेज पार्न यो युद्ध अनिवार्य कदम भएको तर्क राखे पनि विपक्षी सदस्यहरूले भने यो युद्धका कारण अमेरिकाको प्रशान्त क्षेत्रमा हुनुपर्ने सैन्य ध्यान विचलित भएको र यसको प्रत्यक्ष फाइदा चीन जस्ता प्रतिद्वन्द्वी राष्ट्रहरूले उठाइरहेको आरोप लगाएका छन्। सामान्य अमेरिकी नागरिकको जीवनमा यस युद्धले प्रत्यक्ष र पीडादायी प्रभाव पारेको छ, जसका कारण अमेरिका भित्रैको आन्तरिक राजनीतिक वातावरण झन्–झन् विषाक्त र उत्तेजनापूर्ण बन्दै गइरहेको देखिन्छ।
कंग्रेसमा युद्ध सचिवको जवाफ र तातो बहस
अमेरिकी कंग्रेसको पछिल्लो सुनुवाइमा युद्ध सचिव पिट हेगसेथ र विभिन्न सांसदहरू बीच अभूतपूर्व रूपमा चर्को ‘शाउटिङ म्याच’ (भनाभन) भएको छ। संसद् सदस्यहरूले हेगसेथलाई इरान युद्धमा हालसम्म कति अमेरिकी डलर खर्च भयो भन्ने ठोस विवरण माग्दा उनले कुनै पनि स्पष्ट तथ्याङ्क दिन सकेनन्। सांसद गुडल्यान्डरले प्रश्न गर्नुभयो, “६० दिन बितिसक्दा पनि के तपाईलाई एउटा साधारण अमेरिकी परिवारले यो युद्धका लागि कति थप मूल्य चुकाइरहेको छ भन्ने थाहा छैन?” हेगसेथले यी प्रश्नहरूलाई केवल “फसाउने खालका प्रश्न” भन्दै पन्छिन खोजे पनि कंग्रेसमा ग्यास र खाद्यान्नको मूल्य ४० प्रतिशत भन्दा बढीले वृद्धि भएको भयावह तथ्याङ्क सार्वजनिक गरिएको छ।
सचिव हेगसेथले सैन्य रूपमा अमेरिकाले जितिरहेको र इरानको नौसेनालाई पूर्ण रूपमा नराम्रोसँग पराजित गरिएको दाबी प्रस्तुत गर्नु भयो। उनले इरानका आणविक केन्द्रहरूलाई जमिनमुनि नै गाडिदिएको र २४ सै घण्टा निगरानीमा राखेको बताउनु भयो। तर, सांसद ग्यारिनले यसलाई “आफैले आफैलाई लगाएको घाउ” भन्दै कडा प्रतिवाद गर्नु भयो। उनले ६० दिनको छोटो अवधिमा १३ अमेरिकी सैनिकको मृत्यु भएको, सयौ घाइते भएका र हजारौ निर्दोष नागरिकहरू मारिएको तथ्य प्रस्तुत गर्दै प्रशासनले जनतालाई ढाटिरहेको आरोप लगाउनुभयो।
युद्ध सचिवले युद्धका क्रममा “नो क्वार्टर” (शत्रुलाई जीवित नछाड्ने) भन्ने अभिव्यक्ति दिएकोमा पनि कंग्रेसमा निकै ठूलो विवाद सिर्जना भयो। सांसदहरूले यस्तो आदेश जेनेभा महासन्धि अनुसार “युद्ध अपराध” भएको र यसले अमेरिकी सेनाको छवि विश्वभर बिगार्ने तर्क राखेका छन्। हेगसेथले भने आफ्नो विभागले युद्ध जित्नका लागि आवश्यक सबै नियमहरू लागू गर्ने भन्दै आफ्नो अडान दोहोर्याउनु भएको छ। तर, कंग्रेसका सदस्यहरूले भने प्रशासनले युद्धको प्रगतिका बारेमा जनतालाई भ्रममा राखिरहेको र सैन्य सफलताको नाममा रणनीतिक असफलता लुकाइरहेको दाबी गरेका छन्।
यस बहसका क्रममा विगतको प्रशासनले इरानलाई दिइएको सहुलियत र प्रतिबन्ध फुकुवाका कारण इरानले अर्बौ डलर थुपारेको र त्यसले अमेरिकी स्वार्थमा झन् ठूलो धक्का पुर्याएको विषय पनि उठेको छ। विपक्षीहरूले युद्ध सुरु हुनु अघि होर्मुजको जलसन्धि खुल्ला रहेको तर अहिले अमेरिकाले नै त्यसलाई बन्द गर्ने परिस्थिति सिर्जना गरेर आफ्नै खुट्टामा बन्चरो हानेको टिप्पणी गरेका छन्। सचिव हेगसेथ र कंग्रेस सदस्यहरू बीचको यो द्वन्द्वले अमेरिकी रक्षा नीति र युद्ध सञ्चालनको प्रक्रियामा रहेको गहिरो मतभेदलाई सतहमा ल्याइदिएको छ।
आर्थिक प्रभाव र साधारण मानिसको धारणा
अमेरिकाका साधारण नागरिकहरू अहिले यो युद्धको आर्थिक भार बोक्न विवश छन्। ग्यासको मूल्यमा भएको अत्यधिक वृद्धि र आकासिदो मुद्रास्फीतिले गर्दा हरेक अमेरिकी घरधुरीले वार्षिक रूपमा कम्तीमा ५,००० डलर थप खर्च बेहोर्नुपर्ने स्थिति सिर्जना भएको छ। कंग्रेसमा सांसदहरूले उठाएको प्रश्न अनुसार, ह्वाइट हाउसले युद्धको कुनै पनि गम्भीर आर्थिक विश्लेषण नगरी नै यो द्वन्द्वमा होमिएको देखिन्छ। जनतामा यो धारणा प्रबल हुँदै गएको छ कि यदि “जित” यस्तो कष्टकर हुन्छ भने “हार” कस्तो होला?
सिनेटर ब्लुमेन्थलले त स्पष्ट शब्दमा भन्नुभयो, “यदि तपाईले देखिरहनु भएको सफलता यही हो भने, म हार कस्तो हुन्छ होला भनेर कल्पना पनि गर्न चाहन्न।” जनताले अहिले यो युद्धलाई आफ्नो दैनिक गुजारासँग जोडेर हेर्न थालेका छन्। ग्यास स्टेशनदेखि खाद्यान्न स्टोरसम्म बढेको मूल्यले गर्दा ह्वाइट हाउसको युद्ध नीतिप्रति सर्वसाधारणको आक्रोश चुलिदो छ। प्रशासनले भने अझै पनि अघिल्लो सरकारको आर्थिक कमजोरीलाई दोष दिएर उम्किने प्रयास गरिरहेको छ, तर सांसदहरूले भने यो प्रत्यक्ष रूपमा अहिलेको युद्धको परिणाम भएको दाबी गरेका छन्।
युद्धले गर्दा युक्रेनलाई दिइदै आएको सैन्य र आर्थिक सहयोगमा पनि ठूलो गिरावट आएको छ। अमेरिकाका आफ्नै सैन्य भण्डारहरू खाली हुँदै गएका छन्, जसले गर्दा देशको समग्र राष्ट्रिय सुरक्षा नै खतरामा परेको सांसदहरूको ठहर छ। साधारण जनतामा युद्धप्रति रहेको समर्थन निरन्तर घट्दै गएको छ, किनकि उनीहरूको दैनिक जीवन कष्टकर र अनिश्चित बन्दै गइरहेको छ। प्रशासनले “जनताको समर्थन बिना युद्ध सफल हुँदैन” भन्ने कुरा स्वीकार गरे पनि व्यवहारमा भने जनताको विश्वास गुमाउँदै गएको देखिन्छ।
त्यस्तै, घाइते सैनिकहरूको उपचार र उनीहरूको पेन्सनमा भइरहेको कटौतीको मुद्दाले पनि सामाजिक रूपमा ठूलो असन्तोष पैदा गरेको छ। ४०० भन्दा बढी सैनिक घाइते भएर फर्किएका छन्, तर उनीहरूलाई दिइने सुविधामा सरकारले कन्जुस्याइ गरिरहेको भन्दै सांसदहरूले ‘रिचर्ड स्टार एक्ट’ जस्ता कानुन पारित गर्न दबाब दिइरहेका छन्। एकातिर अर्बौ डलर युद्धमा खर्च भइरहेको छ भने अर्कोतिर आफ्नै देशका वीर सिपाहीहरूले पाउने सुविधा कटौती हुनुलाई जनताले निकै नकारात्मक रूपमा लिएका छन्। यसले गर्दा अमेरिका भित्र सामाजिक र आर्थिक विभाजन झन् गहिरिदै गएको छ।
युद्धको भविष्य र अन्त्य कहिले?
यो युद्ध कहिले र कसरी समाप्त हुन्छ भन्ने विषयमा अमेरिकी प्रशासनसँग कुनै ठोस “एक्जिट स्ट्रेटेजी” भएको देखिदैन। सचिव हेगसेथले यो युद्ध इराक वा अफगानिस्तान जस्तो दशकौसम्म नलम्बिने दाबी गरे तापनि वर्तमान परिस्थिति हेर्दा अमेरिका अर्को एउटा ठूलो दलदलमा फसेको सङ्केत मिल्छ। इरानले होर्मुजको जलसन्धि बन्द गरेपछि विश्वव्यापी रूपमा तेल आपूर्तिमा २० प्रतिशतले कटौती भएको छ, जसले गर्दा अमेरिका मात्र होइन, सम्पूर्ण विश्व नै एउटा ठूलो आर्थिक सङ्कटको मुखमा पुगेको छ।
इरानले हाल राखेको प्रस्तावमा “आफूलाई ठूलो रकम दिए मात्र जलसन्धि खोल्ने” जस्ता सर्तहरू अगाडि सारेको छ, जसलाई अमेरिकाले ठाडै अस्वीकार गरेको छ। यस्तो अवस्थामा युद्धको कुनै राजनीतिक निकास ननिस्किएसम्म र इरानलाई वार्ताको टेबुलमा ल्याउन नसकेसम्म यो सङ्कट अझै लामो समयसम्म लम्बिने निश्चित जस्तै छ। कंग्रेसमा भएको बहसले के प्रस्ट पारेको छ भने, यो युद्धको अन्त्य केवल सैन्य बलले मात्र सम्भव छैन, यसका लागि एउटा कुशल कूटनीतिक र राजनीतिक समझदारीको खाँचो छ।
अर्कोतिर, इरानको आणविक महत्वाकाङ्क्षा अझै पनि जीवितै रहेको र उसको ब्यालेस्टिक मिसाइल क्षमतामा कुनै कमी नआएको रिपोर्टहरूले देखाएका छन्। यसले गर्दा अमेरिकाले ६० दिनसम्म गरेको भीषण आक्रमणले पनि रणनीतिक रूपमा इरानलाई कमजोर बनाउन नसकेको विपक्षीहरूको तर्क छ। यदि इरानले चीन र रुससँगको समन्वय अझ बढायो भने यो युद्ध एउटा क्षेत्रीय द्वन्द्वबाट विश्वव्यापी महायुद्धमा परिणत हुने खतरा पनि उत्तिकै छ। अमेरिकी कंग्रेसमा उठेका यी गम्भीर प्रश्नहरूले युद्धको अनिश्चित भविष्यलाई सङ्केत गरिरहेका छन्।
संसद् सदस्यहरूले प्रशासनलाई बारम्बार इरानको आणविक हतियार रोक्नका लागि अर्को के योजना छ भनेर प्रश्न सोधे पनि सचिव हेगसेथले कुनै नयाँ खाका प्रस्तुत गर्न सकेका छैनन्। उनले केवल “मिडनाइट ह्यामर” जस्ता अपरेशनहरू सफल भएको पुरानै दाबी दोहोर्याइरहेका छन्। तर, रणनीतिक विश्लेषकहरू र कंग्रेस सदस्यहरूका अनुसार, जबसम्म अमेरिकाले इरानसँगको सम्बन्ध र मध्यपूर्वको राजनीतिमा एउटा स्थायी र स्पष्ट दृष्टिकोण बनाउँदैन, तबसम्म यो युद्ध अन्त्य हुने कुनै सम्भावना देखिदैन।
अन्तमा, अमेरिका–इरान युद्ध अहिले रणभूमिमा मात्र सीमित नभएर अमेरिकी राजनीति र अर्थतन्त्रका लागि एउटा ठूलो अग्निपरीक्षा बनेको छ। ह्वाइट हाउस प्रशासनले सैन्य सफलताको जतिसुकै ढोल पिटे पनि आकासिदो आर्थिक लागत, मानविय क्षति र रणनीतिक अस्पष्टताले गर्दा यो युद्ध अमेरिकाका लागि निकै महँगो साबित भइरहेको छ। कंग्रेसमा भएको पछिल्लो तातो बहसले प्रशासनको अपारदर्शिता र हचुवाका भरमा लिइएको निर्णयलाई नाङ्गो पारिदिएको छ । यदि छिट्टै एउटा पारदर्शी र कूटनीतिक बाटो नखोजिएमा, यो युद्ध अमेरिकाको आधुनिक इतिहासमा अर्को एउटा “कालो अध्याय” को रूपमा लेखिने निश्चित छ। आम नागरिकको बढ्दो आक्रोश र आर्थिक रसातलले गर्दा अब प्रशासनमाथि युद्ध रोक्न र शान्तिको बाटो रोज्नका लागि चौतर्फी दबाब सिर्जना भएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया