काठमाडौं । नेपाली कांग्रेसकी  उपसभापति  पुष्पा भुसाल ले वर्तमान सरकारले अध्यादेशमार्फत न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गरेको आरोप लगाएकी छन् ।

शनिबार राष्ट्रिय जनमोर्चा ले आयोजना गरेको संविधान संशोधनसम्बन्धी छलफल कार्यक्रममा उनले सरकारले संविधानको मर्मविपरीत अध्यादेशमार्फत कानुन संशोधन गरिरहेको बताइन् ।

advertisement

उनका अनुसार सरकारले संसद् छल्दै अध्यादेशमार्फत आफ्नो स्वार्थअनुसार कानुन संशोधन गर्न खोजेको छ । संविधानले कानुनी शासन र शक्ति सन्तुलनको सिद्धान्त आत्मसात् गरे पनि सरकारले त्यसको विपरीत कदम चालेको उनले आरोप लगाइन् ।

“संविधानले कानुनी शासन मान्नुपर्छ भनेर हामीलाई निर्देशन गरेको छ । कानुन मान्ने प्रारम्भिक बिन्दु राज्यले गर्नुपर्छ,” उनले भनिन्, “संसद् अधिवेशन घोषणा भइसकेको पूर्वसन्ध्यामा अधिवेशन स्थगित गराएर अध्यादेशमार्फत आफ्नो स्वार्थअनुसारको कानुन बनाएर शासन गर्छु भन्ने सरकारले संविधानको मूल मन्त्र स्वीकार गरेको छैन ।”

भुसालले संविधानले न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका र विपक्षी दलको सहभागितामा परिषद् गठन गरी संवैधानिक निकायमा निष्पक्ष नियुक्तिको व्यवस्था गरेको उल्लेख गरिन् । तर सरकारले संवैधानिक परिषद्को मर्मविपरीत प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको उनको आरोप थियो ।

संविधान संशोधन आवश्यक रहेको स्वीकार गर्दै उनले त्यसका लागि सरकार इमानदार हुनुपर्ने बताइन् । साथै सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले प्रभावकारी रूपमा संविधान संशोधन गर्न नसक्ने दाबी पनि गरिन् ।

प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com