काठमाडौं । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१७ का २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जाको साविक जगतभञ्ज्याङ गाविस–४ घर भई हाल पोखरा महानगरपालिका–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार उनीहरूलाई पोखरा महानगरपालिका–८ स्थित अशोक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार खड्काले यही वैशाख २२ गते भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो पसल अगाडि रुपन्देहीको सैनामैना नगरपालिका–६ का ३० वर्षीय आशिष खनाललाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
प्रारम्भिक अनुसन्धानमा खड्का र खनालबीच आर्थिक लेनदेन र मोबाइल फोनको विषयलाई लिएर विवाद भएको खुलेको प्रहरीले जनाएको छ।
खनालको मोबाइल खड्काले प्रयोग गर्दै आएको र फिर्ता माग्ने क्रममा सामाजिक सञ्जालमा पनि विवाद बढेको बताइएको छ।
प्रहरी उपरीक्षक पुरीका अनुसार सम्राट गुरुङले खड्कालाई लुकाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो। दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया