काठमाडौं। नेपाल राहत शिक्षक केन्द्रीय समिति ले प्रतिनिधिसभा सदस्य महावीर पुन ले राहत शिक्षकबारे संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

समितिले उक्त अभिव्यक्तिलाई तथ्यहीन, अशोभनीय र खेदजनक भन्दै तत्काल सच्याउन चेतावनी दिएको हो।

समितिका अध्यक्ष वीरेन्द्र मल्ल र महासचिव डम्बर राईले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ३० गते संघीय प्रतिनिधिसभाको बैठकमा सांसद पुनले व्यक्त गरेको धारणा सम्पूर्ण राहत शिक्षक समुदायको आत्मसम्मानमाथि प्रहार भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सम्मानित संसदमा बोल्ने क्रममा माननीय महावीर पुनले राहत शिक्षकप्रति व्यक्त गर्नुभएको टिप्पणी अत्यन्त गैरजिम्मेवार, तथ्यविहीन र अपमानजनक छ।

यस्तो अभिव्यक्तिले देशभर कार्यरत हजारौं राहत शिक्षकको मनोबलमा गम्भीर असर पुगेको छ।”

समितिले राहत शिक्षकहरू लामो समयदेखि न्यून सुविधा, अस्थिर भविष्य र चुनौतीपूर्ण परिस्थितिका बीच विद्यालय शिक्षामा योगदान गरिरहेको उल्लेख गर्दै उनीहरूको भूमिकालाई कमजोर देखाउने प्रयास अस्वीकार्य भएको जनाएको छ।

शिक्षा क्षेत्रमा देखिएका समस्याको सम्पूर्ण दोष राहत शिक्षकमाथि थोपर्न खोज्नु अन्यायपूर्ण भएको समितिको भनाइ छ।

राहत शिक्षकहरूले दुर्गमदेखि शहरी क्षेत्रसम्मका विद्यालयमा निरन्तर सेवा दिँदै आएको स्मरण गराउँदै समितिले शिक्षकहरूको योगदानलाई अपमानित गर्ने शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु उचित नभएको उल्लेख गरेको छ।

“शिक्षा सुधारका नाममा कुनै पनि शिक्षक समुदायलाई होच्याउने र अपमानित गर्ने प्रवृत्तिले सकारात्मक परिणाम दिन सक्दैन,” विज्ञप्तिमा उल्लेख छ।

समितिले सांसद पुनलाई आफ्नो अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा स्पष्ट धारणा राख्न आग्रह गरेको छ।

अन्यथा उक्त अभिव्यक्तिबाट उत्पन्न हुने नकारात्मक परिस्थिति र प्रतिक्रिया स्वयं पुनले व्यहोर्नुपर्ने चेतावनी पनि दिइएको छ।

सांसद पुनले प्रतिनिधिसभामा बोल्दै शिक्षा क्षेत्र सुधार गर्न राहत शिक्षकहरूको भूमिकामाथि प्रश्न उठाएका थिए।

उनले राहत शिक्षकहरूले अपेक्षाअनुसार राम्रो अध्यापन नगरेको दाबी गर्दै उनीहरूको व्यवस्थापन ‘कोटा प्रणाली’ मार्फत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

उक्त अभिव्यक्तिपछि शिक्षक समुदायमा तीव्र असन्तुष्टि देखिएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com