काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच भएको एकीकरणप्रति नेता हृदयेश त्रिपाठीले दुई बुँदे फरक मत सार्वजनिक गरेका छन्।

त्रिपाठीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति असहमति जनाउँदै नेपालजस्तो बहुजातीय, बहुभाषिक र विविधतायुक्त मुलुकका लागि हालको संसदीय शासन व्यवस्था र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्ता विषयमा स्पष्ट धारणा नबनाई गरिने एकता दीर्घकालीन रूपमा घातक हुन सक्ने चेतावनी दिएका छन्।

advertisement

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अवधारणा केही कम्युनिस्ट धारसँग जोडिएको र यसले अल्पसंख्यक समुदायको हितमा नपर्ने तर्क गरेका छन्। साथै, पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि नेपालको सन्दर्भमा व्यवहारिक नहुने उनको भनाइ छ।

यसअघि गत मंसिर २४ गते त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा), वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र लोसपाबीच एकीकरण भएको थियो। त्यसपछि पुस महिनामा लोसपा र जसपा नेपालबीच पनि एकता भएको थियो, जसलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरिसकेको छ।

त्रिपाठीका अनुसार जप्रपा र तमलोपा नेतृत्वको पहलमा लोसपासँग एकता सम्भव बनेको भए पनि त्यसपछिको जसपा–लोसपा एकीकरण प्रक्रियामा आफूहरूलाई जानकारी नदिइएको थियो। उनले तमलोपा उक्त प्रक्रिया बाहिरिएको पनि बताएका छन्।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा त्रिपाठी जसपा नेपालको चुनाव चिह्न ‘ढल्केको छाता’ लिएर नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१ बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए।

यद्यपि, नयाँ एकीकरणले निर्वाचन आयोगबाट मान्यता पाउनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com