काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।
यससँगै नेपाल लिग–२ अंकतालिकामा दुई स्थान सुधार गर्दै पाँचौँ स्थानमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा कप्तान रोहित पौडेल ले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७४ रन बनाए। उनले ९८ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे।
रोहितले इशान पाण्डे सँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए।
इशानले ६१ बलमा ५५ रन बनाउँदै पाँच चौका र दुई छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेल र आसिफ शेख ले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।
कुशल २८ र आसिफ २९ रनमा आउट भए। त्यसपछि रोहित र इशानले नेपालको इनिङ सम्हाले।
उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे।
स्कटल्यान्डका लागि मार्क वाट ले दुई तथा ब्रेन्डन म्याकमुलेन ले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रनमा अलआउट भएको थियो।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ७३ रन बनाउँदै छ छक्का र छ चौका प्रहार गरे।
माइकल इंग्लिस ले ७२ बलमा ५१ रन बनाए।
नेपालका लागि ललित राजवंशी घातक सावित भए। उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए।
सन्दीप लामिछाने ले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए।
यस क्रममा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमान पनि बनाए।
उनले ७३ खेलमै उक्त उपलब्धि हासिल गर्दै मिचेल स्टार्क को ७७ खेलको कीर्तिमान तोडे।
यस जितसँगै २७ खेलबाट २२ अंक जोडेको नेपाल पाँचौँ स्थानमा पुगेको छ।
समान २२ अंक भए पनि रनरेटमा पछि परेको नामिबिया राष्ट्रिय क्रिकेट टिम छैटौँ स्थानमा छ। स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टिम भने ३८ अंकसहित शीर्षस्थानमै कायम छ।
अब नेपालले लिग–२ सिरिजको अन्तिम खेल शुक्रबार अमेरिका राष्ट्रिय क्रिकेट टिम विरुद्ध खेल्नेछ।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया