काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई पुनर्स्थापना सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित परिवारलाई रुजू गराएर प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यससँगै जोखिमयुक्त बस्ती हटाइएका परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहनस्वरूप राहत प्याकेज पनि घोषणा गरिएको छ । पाँच सदस्यसम्म भएका परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएमा थप प्रति सदस्य २ हजार रुपैयाँका दरले हाललाई तीन महिनासम्म बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइनेछ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यो सहयोग सुकुमबासी तथा विस्थापित परिवारलाई लक्षित गरी प्रदान गरिनेछ ।
त्यसैगरी मन्त्रिपरिषद्ले नगरपालिका राजस्व अभिवृद्धि कार्यक्रमअन्तर्गत स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ६.११ मिलियन स्वीस फ्र्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै चीन सरकारले अरनिको राजमार्ग मर्मतका लागि उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया