काठमाडौं । बाँके र मोरङमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।

बाँकेको कोहलपुर नगरपालिका–३ भुषाल चोक नजिकै भएको  त्रिपक्षीय सवारी दुर्घटनामा रिक्सा चालक ४२ वर्षीय निमबहादुर पुनको मंगलबार राति मृत्यु भएको हो। प्रहरीका अनुसार भे १ त ६४१३ नम्बरको ट्र्याक्टरमा बा १५ च ८३७० नम्बरको भ्यान ठोक्किँदा त्यसमा संलग्न रिक्सा समेत दुर्घटनामा परेको थियो।

advertisement

गम्भीर घाइते भएका पुनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने घाइते भ्यान चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता, मोरङको विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि ग्याँस बुलेटले ठक्कर दिँदा साइकलमा सवार बाबु–छोरीको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ४५ वर्षीय गिरिजानन्द ठाकुर र उनकी १२ वर्षीया छोरी गरिमा ठाकुर रहेका छन्।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१० नम्बरको ग्याँस बुलेटले मंगलबार साँझ उनीहरूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका दुवै जनाको कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com