काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकको आवश्यकता अनुरूप उपयुक्त कानुन निर्माणमा सांसदहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्च नेपालले आज आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले पुराना कानुनहरूको संशोधन, आवश्यक परे खारेजी तथा भविष्यलाई दृष्टिगत गरी विधायकी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
सभामुख अर्यालले हाल विधेयक निर्माणका क्रममा अपनाइँदै आएको अभ्यास व्यवहारिक समस्यासँग पर्याप्त रूपमा मेल नखाइरहेको टिप्पणी गरे । उनले प्रश्न गर्दै भने, “विधेयकको मस्यौदा आखिर कसले बनाउँछ, कसको सल्लाह र छलफलमा तयार हुन्छ ?”
उनका अनुसार, कानुन प्रयोग गर्ने नागरिकलाई नै जानकारी नदिई तयार गरिने कतिपय विधेयकहरूले देशको भौगोलिक अवस्था र जनचेतनाको स्तरलाई समेत सम्बोधन गर्न सकेका छैनन् । उनले भने, “कानुन बनाउँदा प्रयोगकर्तालाई जानकारी नै हुँदैन, हामी बनाइदिन्छौँ, तिमीले प्रयोग गर भन्नेजस्तो अवस्था छ । यसले गर्दा नागरिकले आफूले पालना गर्नुपर्ने कानुनबारे नै बुझ्न पाउँदैनन् र बाध्यतावश पालना गर्नुपर्छ ।”
सभामुख अर्यालले गणतन्त्र स्थापनामा पूर्वसांसदहरूको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको अनुभव, वर्तमान सांसदहरूको सक्रियता र नयाँ पुस्ताको सहभागिताबाट मुलुक समृद्धिको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मञ्चकी उपाध्यक्ष सुशीला शर्माले पूर्वसांसदहरूको अनुभव र वर्तमान सांसदहरूको सक्रियताले संसदीय अभ्यासलाई अझ सशक्त र प्रभावकारी बनाउन सक्ने धारणा राखिन् ।
त्यसैगरी, मञ्चका कार्यवाहक अध्यक्ष विष्णुबहादुर राउतले ‘संसदीय समितिमा विधायकी अभ्यास’, ‘गैरविधायिकी अभ्यास’ तथा ‘अन्तर्राष्ट्रिय महासन्धि र अदालतका आदेश कार्यान्वयनमा समितिको भूमिका’ विषयमा विज्ञहरूले प्रस्तुति दिने कार्यक्रम रहेको जानकारी दिए ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया