महासंघमा निर्वाचन र मनोनयन प्रक्रिया सम्पन्न, वैद्य–प्रधान विजयीसँगै केन्द्रीय समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य तथा कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन।



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य तथा कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन। महासंघको केन्द्रीय कार्यालय टेकुमा शुक्रबार सम्पन्न निर्वाचनबाट वैद्य र प्रधान विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र संघाई र हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका थिए। तर, निर्वाचनअघि ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघाईबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनको अन्तिम परिणामअनुसार वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको महासंघले जनाएको छ।

advertisement

त्यसैगरी कोषाध्यक्ष पदमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनपछि प्रधान कोषाध्यक्ष पदमा विजयी भएका हुन्। महासंघको विधान–२०४९ ९सातौं संशोधनसहित० को दफा २९ ५ र २९ ८ बमोजिम वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गरिएको महासंघले जनाएको छ।

यसैबीच महासंघका अध्यक्ष अन्जन श्रेष्ठ ले शुक्रबार दुई जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन। मनोनित हुने सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहेका छन्।

महासंघको विधान धारा २९ को च १० अनुसार सबै सदस्य समूहको प्रतिनिधित्व सुनिश्चित हुने गरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न सकिने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार अध्यक्ष श्रेष्ठले ६ जना सदस्य मनोनित गरेका हुन्। विधानअनुसार बाँकी रहेको एक सदस्य पदमा भने अझै मनोनयन हुन बाँकी रहेको महासंघले जनाएको छ।

नवनिर्वाचित तथा मनोनित पदाधिकारी एवं सदस्यहरूलाई अध्यक्ष अन्जन श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। सो अवसरमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको व्यावसायिक हकहित संरक्षण तथा देशको आर्थिक विकासका लागि सबै उद्योगी–व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले देशभरका उद्योगी व्यवसायीका समस्या र मागलाई सम्बोधन गर्दै आर्थिक समृद्धि तथा विकासका लागि महासंघ सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

महासंघको वैशाख २१ र २२ गते सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनपछि विधानको धारा २९ ३ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम अन्जन श्रेष्ठ महासंघको अध्यक्षमा निर्वाचित भएका थिए।

महासंघले २०८१ मंसिरमा गरेको सातौं संशोधनअनुसार यस कार्यकालका लागि मात्र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था लागू गरिएको थियो।

संशोधित विधानअनुसार आगामी कार्यकालदेखि भने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइएको छ। अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनमार्फत साधारणसभाबाट निर्वाचित हुने प्रावधान कायम गरिएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com