एजेन्सी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अब्राहम सम्झौतामा सहभागी हुन दिएको प्रस्ताव अस्वीकार गरेको छ । ट्रम्पले मुस्लिम तथा अरब मुलुकहरूलाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने उक्त सम्झौतामा जोडिन आग्रह गरेको केही घण्टामै इस्लामाबादले यस्तो धारणा आफ्नो राष्ट्रिय विचारधारा र दीर्घकालीन नीतिसँग मेल नखाने स्पष्ट पारेको हो ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले समा टिभीसँगको अन्तर्वार्तामा बोल्दै आफ्नो देशले वैचारिक आधारसँग बाझिने कुनै पनि अन्तर्राष्ट्रिय समझदारी स्वीकार नगर्ने बताए । उनले इजरायलसँग सम्बन्ध विस्तारको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै यस्तो पक्षसँग दीर्घकालीन भरोसाको सम्बन्ध सम्भव नरहेको टिप्पणी गरे ।

advertisement

आसिफले पाकिस्तानको आधिकारिक नीति विगतदेखि नै इजरायलसँग सम्बन्ध सामान्यीकरणको विपक्षमा रहेको दोहोर्‍याए । उनले पाकिस्तानको पासपोर्टमै इजरायललाई मान्यता नदिने नीति झल्किने उल्लेख गर्दै इजरायलको नामसमेत समावेश नगरिनुले राज्यको संस्थागत दृष्टिकोण स्पष्ट पार्ने बताए ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्भावित सहमतिलाई मध्यपूर्वको नयाँ राजनीतिक संरचनासँग जोड्दै पाकिस्तानसहित विभिन्न मुस्लिम तथा अरब राष्ट्रलाई अब्राहम सम्झौतामा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै क्षेत्रीय तहमा नयाँ कूटनीतिक सहमति निर्माण हुन सक्ने संकेत गरेका थिए ।

ट्रम्पले साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलाई उक्त सम्झौतामा सामेल हुन आग्रह गर्दै यसलाई मध्यपूर्वकै ‘ऐतिहासिक मोड’ बन्न सक्ने बताएका थिए । उनले वार्ता सफल भए इरानसमेत भविष्यमा यही ढाँचामा सहभागी हुन सक्ने सम्भावना औँल्याएका छन् ।

उनका अनुसार अब्राहम सम्झौताले संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र सुडानजस्ता मुलुकलाई आर्थिक, कूटनीतिक तथा सुरक्षा क्षेत्रमा लाभ पुर्‍याएको छ । ट्रम्पले यसले मध्यपूर्वमा स्थायित्व, शक्ति सन्तुलन र शान्तिको नयाँ आधार तयार पार्ने दाबी पनि गरेका छन् ।

ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमान, यूएईका राष्ट्रपति मोहम्मद बिन जायद, कतारका अमिर शेख तमीम बिन हमद अल थानी, पाकिस्तानी सेना प्रमुख असीम मुनीर, टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगन, इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी, जोर्डनका राजा अब्दुल्लाह द्वितीय तथा बहराइनका राजा हमद बिन इसा अल खलिफासँग यस विषयमा छलफल भएको जानकारी पनि दिएका छन् ।

सन् २०२० मा अमेरिकी मध्यस्थतामा सुरु गरिएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनीतिक तथा आर्थिक सम्बन्ध सामान्यीकरण गराउने उद्देश्यले अघि बढाइएको पहल हो । तर ट्रम्पको पछिल्लो प्रस्तावप्रति पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएपछि मुस्लिम विश्वमा यस सम्झौताको विस्तार सहज नहुने संकेत देखिएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com