परासी। चितवन र नवलपुरमा युवा भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेपछि जेनजी अभियन्ता मिरज ढुंगाना को नेतृत्वमा रहेको टोली मंगलबार साँझ नवलपरासी सुस्ता पश्चिम पुगेको छ।
मेची–महाकाली यात्रामा रहेको उक्त टोलीले परासीस्थित उद्योग वाणिज्य संघको सभाहलमा युवा भेला आयोजना गर्दै जेनजी आन्दोलनको मर्म, युवाको धारणा र सरकारप्रतिको जनचासोबारे छलफल गरेको हो।
मिरज ढुंगानासहित जेनजी अभियन्ता डा. जगत बिक र सामाजिक अभियन्ता सौरभ भण्डारी सहभागी टोली देश दौडाहामार्फत युवासँग प्रत्यक्ष संवादमा जुटेको छ।
टोलीले जेनजी आन्दोलनको भावना अनुसार सरकारको कामकारबाही, युवाको अपेक्षा र विद्यार्थीको धारणा बुझ्ने उद्देश्यसहित यात्रा गरिरहेको जनाएको छ।
यसअघि पेट्रोलियम पदार्थमा लगाइएको ६ प्रकारका कर खारेजीको माग गर्दै चितवनमा मोटरसाइकल धकेल्दै सांकेतिक प्रदर्शन गरेको उक्त समूह अहिले विभिन्न जिल्लामा पुगेर युवालाई संगठित गर्न सक्रिय देखिएको छ।
परासीमा आयोजित भेलालाई सम्बोधन गर्दै जेनजी अभियन्ता मिरज ढुंगानाले जेनजी आन्दोलन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई परिवर्तन, सुशासन र सहिदको सपना पूरा गर्ने अभियान भएको बताए।
उनले आन्दोलनमा सहभागी हजारौं युवामाथि विभिन्न आरोप लगाइएको तथा जेनजीको नाम जोडेर बनेको बालेन नेतृत्वको सरकारले करोडौं रुपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेकोप्रति आक्रोश व्यक्त गरे।
“सरकारले युवाको आवाज दबाउन खोजेको छ। जेनजी आन्दोलनमा सहभागी युवामाथि लगाइएका मुद्दा र दमनको विरुद्ध अब सबै एकजुट भएर प्रतिवाद गर्नुपर्छ,” ढुंगानाले भने।
सामाजिक अभियन्ता सौरभ भण्डारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकमाथि १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा कर लगाउने सरकारी नीति अव्यवहारिक भएको टिप्पणी गरे।
उनले सीमावर्ती नागरिकलाई राज्यले सुरक्षा र सहुलियत दिनुपर्नेमा उल्टै करको भार थोपरेको आरोप लगाए।
“सीमाका नागरिक सिमानाका रक्षक हुन्। सीमा मिचिँदा मौन बस्ने राज्य अहिले कर संकलनको नाममा गरिबमाथि अन्याय गरिरहेको छ,” भण्डारीले भने।
त्यस्तै, जेनजी अभियन्ता डा. जगत बिकले मधेसको नाममा राजनीति गरेर भोट माग्ने शक्तिहरूले मधेसी जनतामाथि नै अन्याय गरेको आरोप लगाए।
उनले युवाको भावना विपरीत सरकार अघि बढेको भन्दै अब युवाहरू सचेत र संगठित बन्नुपर्ने धारणा राखे।
कार्यक्रमको सञ्चालन जेनजी अगुवा ओशिस यादवले गरेका थिए।
कार्यक्रममा कुलदिप यादव, अखिलेश यादव, आरके गुप्ता, रियाज अन्सारीलगायत वक्ताहरूले जेनजी आन्दोलनमा सहभागी युवा, घाइते तथा सहिदहरूको सपना साकार पार्न मिरज ढुंगानाको नेतृत्वमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
भेलामा सहभागी युवाहरूले देशमा बढ्दो बेरोजगारी, महँगी, करको भार र युवापलायनप्रति चिन्ता व्यक्त गर्दै अब युवाको नेतृत्वमा वैकल्पिक आन्दोलन आवश्यक रहेको धारणा समेत राखेका थिए।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया